जनकपुरधाम- धनुषामा घुस सहित पक्राउ परेका मालपोत कार्यालय निमित्त प्रमुख सुनिलकुमार झा विरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ।
गत चैत २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासले जग्गासम्बन्धी हक दफा मुद्दामा मुद्दाको फैसला गरेबापत सेवाग्राहीसँग पाँच लाख घुस माग गरिएको सूचनाको आधारमा झालाई जनकपुरधामको भानुचोकबाट नियन्त्रणमा लिएको थियो।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीको अनुसार झाले जग्गासम्बन्धी हक दफा मुद्दामा फैसला गरिदिन्छु भनी सेवाग्राहीसँग घुसबापत ५ लाख माग गरेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को कसुर भएकोले झालाई ५ लाख बिगो कायम गरी अदालतमा मुद्दा दायर गरिएको हो।

झामाथि पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन समेतको माग दाबी लिई शुक्रवार विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस् !