जनकपुरधाम- नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिका सह-महामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन्।
स्थानीय चुनावका लागि पार्टीको टिकट बिक्री गरिएको भन्दै नेता यादवले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि पदबाट राजीनामा दिएको घोषणा गरे हुन् ।
नेपाली काँग्रेस बाराको पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले मधेश प्रदेश कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विधान विपरीत टिकट वितरण गरेकोले पदबाट राजीनामा गरेको बताए ।

मधेश प्रदेशका सभापति कृष्ण यादव र उप सभापति चन्द्रशेखर यादवले बारा निर्वाचन क्षेत्र नम्बर २ का स्थानीय तहहरुमा विधि प्रक्रिया मिचेर आर्थिक लाभ लिई टिकट वितरण गरेको आरोप लगाए ।


यादवले भने, ‘मधेश प्रदेश कार्य समितिबाट विधि प्रक्रिया मिचेर टिकट वितरण गरिएको छ। यस सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत जानकारी गराउँदा कुनै सुनवाई भएन । त्यसैले बाध्य भएर आफ्नो पदबाट राजिनामा गरे छु ।’
पत्रकार सम्मेलनमा यादवले वडा समिति, प्रदेश समिति, क्षेत्रीय समिति र जिल्ला समितिबाट सिफारिस गरिएका उम्मेदवारहरुलाई टिकट नदिएको र आफूखुसी सभापति र उप सभापतिले टिकट वितरण गरेको कुराको जानकारी सोहि दिन बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाललाई समेत गराइएको बताए।
उनले प्रजिअलाई जानकारी गराएपछि टिकटको बारेमा प्रजिय कटुवालले उप सभापति चन्द्रशेखर यादवसँग पनि सोधपुछ गरेको बताए।
नेपाली काँग्रेस बाराका सभापति तथा कलैया उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार राजेश राय यादवको नजिकका मानिएको जयनारायण यादवले सह महामन्त्री पदबाट राजीनामाले नेपाली काँग्रेस बाराका निर्वाचन क्षेत्र नम्बर २ का स्थानीय तहहरुमा उम्मेदवार बनेकाहरुलाई एक गुटले सहयोग नगरेको स्पष्ट देखिएको छ।
प्रतिक्रिया दिनुहोस् !