Shirish News
Advertisement
  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English
No Result
View All Result
E-Paper
No Result
View All Result
E-Paper
  • होमपेज
  • समाचार
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
  • English

क्रसरवाला उम्मेदवार बन्दा त्रसित मतदाता

क्रसर उद्योगमार्फत सिंगो बस्तीलाई हानि गर्नेले चुनाव जित्दा ज्यादती झन् बढ्ला भन्ने सम्झेर स्थानीय बासिन्दा बेचैन

सन्तोष सिंह सन्तोष सिंह
२०७९ बैशाख २१, बुधबार १८:५० बजे

धनुषा – महोत्तरीको भंगहा नगरपालिका–४ को रातु नदी किनारस्थित पलार टोलकी ६५ वर्षीया देवकीदेवी बातर एक सातायता राति शान्तसँग सुत्न पाएकी छन् । घरछेउकै क्रसर उद्योग राति चल्न छाडेपछि उनले निद्रा राम्ररी पुर्‍याउन पाएकी हुन् । ‘रातभर क्रसर चल्दा, खटखट गर्दै टिपर गुड्दा भूकम्प आएजस्तै लाग्थ्यो । झपक्क सुत्न पनि पाइँदैनथ्यो । चुनाव आएपछि शान्त भएको छ,’ देवकीदेवीले भनिन् ।

महोत्तरीको भंगहा–४ स्थित रातु नदी उत्खनन गरिँदै (बायाँ) । क्रसर उद्योगले बाँध भत्काएका कारण बाढीले क्षति गरेको खेत देखाउँदै चौठी बातर (दायाँ माथि) र भंगहा–४, पलार टोलका बासिन्दा चौतारीमा सुस्ताउँदै । तस्बिर : सन्तोष/कान्तिपुर

रातु नदी किनारमा ११ वटा क्रसर उद्योग छन् । तीमध्ये तीनवटाका सञ्चालक स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । सीता माई गिट्टी बालुवा वासिङ सेन्टरका सञ्चालक विजयकुमार मण्डल कांग्रेसबाट नगरप्रमुखमा उम्मेदवार बनेका हुन् । भतिजसहित तीन जनाको नाममा दर्ता रहेको क्रसर उद्योगमा पनि उनको लगानी छ । यस्तै पञ्चुधुरा क्रसर उद्योगका सञ्चालक प्रह्लाद क्षेत्री बर्दिबास नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवार छन् । भंगहा–४ मा जनमत पार्टीबाट वडाध्यक्षका उम्मेदवार अशोकप्रसाद साह पनि क्रसर सञ्चालक हुन् । उनको सुरज क्रसर उद्योग रातु नदीमै छ ।

 

क्रसर उद्योगका कर्मचारी र श्रमिक चुनावी प्रचारप्रसारमै खटिएका छन् । प्रचारप्रसारमा कर्मचारी नगएका बेला भने दिउँसो केहीबेर क्रसर उद्योग चल्छन् । उम्मेदवारहरूले हरेक साझ भोज गर्ने हुनाले श्रमिकहरू साँझ त्यतै जान्छन् । त्यसैले राति उद्योग सञ्चालन ठप्प भएको स्थानीयले सुनाए । टिपर चालकहरूले उम्मेदवारको प्रचारप्रसार गर्ने गाडी चलाउने गरेका छन् । अरू बेला टिपरले उडाएको धूलोले छोपिने टोलको चौतारीमा मान्छे बस्न थालेका छन् । पलार टोलका पल्टु बतारले सुनाए, ‘लामो समयपछि चौतारी भरिभराउ देखिन थालेको छ ।’

पलार टोलमा ४० घरधुरी छन् । पलार टोलका धेरैजसो बासिन्दा रातु नदी किनारमा गिट्टी कुटेर र बालुवा चालेर गुजारा चलाउँथे । ५ वर्षअघि क्रसर उद्योग खुल्न थालेपछि स्थानीयको रोजगारी खोसियो । सँगै क्रसर उद्योगले प्रदूषण बढायो भने टोलको बिचोबीच हुइँकिने टिपरले त्राहिमाम् स्थिति निम्त्यायो । त्यति मात्रै होइन, २०७६ असारमा क्रसरकै टिपरले किचेर सोनियादेवीकी डेढ वर्षीय नाति ओम सरदारको मृत्यु भयो । लाइसेन्स नभएको चालकले चलाएको टिपरले बालकलाई किचेको थियो । स्थानीयले न्यायका निम्ति हारगुहार गरे तर स्थानीय नेता र प्रहरी टिपरवालाकै पक्षमा लाग्दा मुद्दा प्रक्रिया नै सुरु हुन सकेन । क्रसर सञ्चालकबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएर चुप लगाइयो । स्थानीयका अनुसार त्यतिबेला भंगाहका तत्कालीन मेयर सञ्जीव शाह र वडाध्यक्ष अशोक महतोलगायतले पीडित परिवारलाई मिल्न दबाब दिएका थिए । तत्कालीन मेयर साह भने आफू समवेदना दिन मात्रै पीडितको घर पुगेको, कुनै दबाब नदिएको दाबी गर्छन् । उनले प्रस्टीकरणको भाषामा भने, ‘मुद्दा प्रक्रियामा सहयोग गर्ने बताएको थिएँ तर पीडित परिवार आफैं तयार भएन ।’

भंगहा नगरपालिकामा भने निवर्तमान मेयर साहमाथि कार्यकालको अन्तिम समयमा प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई ‘सेटिङ’ गरेर आफू नजिकका व्यक्तिलाई खोला उत्खननको ठेक्का दिएको आरोप लागेको छ । साह अहिले लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयरका उम्मेदवार छन् । मेयरकै अर्का उम्मेदवार विजयकुमार मण्डलले नगरपालिकाले उत्खननका लागि लगाएको ठेक्काविरुद्ध उच्च अदालत जनकपुरमा रिट नै दायर गरेका छन् ।

महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गत बाँके नदीमा नवबुद्ध क्रसर उद्योग सञ्चालन गर्दै आएका समर लामाकी श्रीमती लालकुमारी लामा लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुखको उम्मेदवार बनेकी छन् । महोतरी–सर्लाहीको सिमाना बाँके नदी र सागरनाथ वन क्षेत्रमा चार वर्षयता राजनीतिक आडमा अवैध उत्खनन गर्दै आएका लामाले नवबुद्ध क्रसर उद्योग आफूले बेचेको घोषणा गरी गाउँमा मत माग्न थालेको स्थानीय बताउँछन् ।

गौशाला नगरपालिकाले भने चुनावको मुखमा नदीजन्य स्रोतको उत्खननले मतदातामा नकारात्मक असर पर्ने भएकाले बाँके, मरहा र सोनी खोलामा उत्खनन रोकेको छ । प्रक्रिया पूरा गरेका उद्योगलाई पनि चुनावपछि मात्रै उत्खननको अनुमति दिने नगरको तयारी छ ।

क्रसरको विरोध गर्दा डाँका मुद्दा
रातु नदीमा हुने अवैध उत्खननको विरोधमा स्थानीय बासिन्दाले कति बोले, लेखाजोखा छैन । उनीहरूले क्रसर उद्योगले सडक भत्काएकामा विरोध गरेनन् कि, सडकमा धूलो उड्दा पानी छर्किनुपर्ने माग राखेनन् । तर उनीहरूका माग क्रसर सञ्चालकले नेता र प्रहरी लगाएरै किनारा लगाए । कुनै बेला आर्थिक प्रलोभनमा पारे । कुटपिट गरेर वा फर्जी मुद्दा लगाएरसमेत चुप बस्न बाध्य पारिएका घटना पनि छन् ।

क्रसर उद्योगको अवैध उत्खननविरुद्ध २०७६ जेठमा स्थानीयले क्रसर उद्योगमा गएर आवाज उठाएका थिए । सुनुवाइ नभएपछि उनीहरूले अवैध उत्खनन गरेका क्रसर उद्योगका टिपर, लोडर र जेसीभी नियन्त्रण गरेर प्रहरीलाई बुझाएका थिए । तर केही दिनपछि पञ्चुधुरा गिट्टी बालुवा वासिङ सेन्टरमा लुटपाट गरेको भन्दै भंगहा–४ का सन्तोष महतो, गंगाप्रसाद महतो, हीरालाल महतो र सञ्जीव साहविरुद्ध जिल्ला प्रहरीले अनुसन्धान सुरु गर्‍यो । हीरालाललाई भंगहा प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिटसमेत गरे । प्रहरीले बुझाएको प्रतिवेदनकै आधारमा जिल्ला अदालत महोत्तरीमा चारै जनाविरुद्ध डाँका मुद्दा दर्ता भयो । यो मुद्दा अहिले विचाराधीन छ । हरेक महिना पेसी तोकिन्छ तर अन्तिम समयमा त्यो पनि सर्छ ।

अदालतमा हाजिर हुन गएका हीरालाल महतो १ लाख धरौटी राखेर साधारण तारिखमा छुटेका थिए । त्यसलगत्तै ०७६ मंसिर २२ मा अदालतको पत्र लिएर हाजिर हुन गएका २७ वर्षीय सन्तोष र गंगाप्रसादलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइदियो । पुनरावेदन गरेपछि जिल्ला कारागार महोत्तरीबाट पुस २५ मा १/१ लाख धरौटी राखेर उनीहरू दुवै छुटे । सञ्जीव भने नागरिकताको नाम र बुबाको नाम उजुरीमा नमिल्दा थुनामा जानबाट बचेका छन् । उनीहरूलाई जुन क्रसर उद्योगमा तोडफोड र डाँका गरेको मुद्दा लगाइएको थियो, त्यही क्रसर उद्योगले वडाध्यक्ष अशोक महतोमार्फत अदालतमा धरौटी बुझाइदिएको थियो । यसरी धरौटी रकमका लागि समन्वय भने भंगहा नगरपालिका मेयर सञ्जीव साहले गरेको स्थानीयको भनाइ छ । ‘उत्खननको विरोध गर्दा स्थानीयमाथि क्रसर व्यवसायीले झूटा मुद्दा लगाएकाले अदालतमा धरौटी राख्न मैले आर्थिक सहयोग गरेको हो,’ मेयर साहले भने ।

गत चुनावमा राजपाबाट निर्वाचित मेयर साह पनि प्रहरीको आडमा क्रसर सञ्चालकहरूले अवैध उत्खनन गरेको बताउँछन् । उनले अवैध उत्खननमा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरे । ‘नदीमा अवैध उत्खनन गराउने काममा मेरो कुनै संलग्नता छैन । विपक्षीले फसाउन आरोप लगाएका हुन्,’ उनले भने । अदालतमा मुद्दा खेपिरहेकाहरूका अनुसार स्थानीय तहका उम्मेदवारहरूले उनीहरूलाई धम्क्याइरहेका छन् । ‘निर्वाचनमा सहयोग गरे मुद्दाको फैसला गराउन सहयोग गर्ने, नत्र जेल जान तयार रहनुपर्ने धम्की आइरहेको छ,’ सन्तोष महतोले भने ।

क्रसर उद्योगमार्फत सिंगो बस्तीलाई हानि गर्नेले चुनाव जित्दा ज्यादती झन् बढ्ला भन्ने सम्झेर स्थानीय बासिन्दा बेचैन छन् । ‘हाम्रो समस्या कसैले देखेनन्,’ पलार टोलकी देवकीदेवीले भनिन्, ‘गाउँटोलमा उनीहरूकै बोलवाला छ । उनीहरू नै चुनावमा उठेर गाउँमा मासु र दारु बाँड्न थालेका छन् । पैसामा किन्ने धम्की दिँदै छन् ।’

मुहान सुक्यो, खेत बग्यो
रातु नदीबाट पलार टोल हुँदै बग्ने कुलोको पानीले सय बिघाभन्दा बढी खेत सिञ्चित हुन्थ्यो । पछिल्लो समय कुलोमा आउँदैन । क्रसर उद्योगले अवैध रूपमा १०/१५ फिट गहिरो गरी उत्खनन गर्दा नदी कुलोभन्दा धेरै तल बग्ने गर्छ । क्रसर सञ्चालकले नदीलाई पोखरी जस्तै गहिरो बनाउँदै लगेको स्थानीय ओपिन्दर सरदारले बताए । ‘कुलोमा पानी आउन छाडेपछि पम्पसेटले सिँचाइ गर्नुपरेको छ । त्यसका लागि पैसा तिरेर पनि पालो कुर्नुपर्छ । पहिले कुलो चल्दा पैसा तिर्नु पर्दैनथ्यो,’ उनले भने ।

रातु नदीको पानीले भंगहाको पलारसँगै बिर्ता, मजरा, हतिसर्वा, जमुनियालगायत क्षेत्रमा सिँचाइ हुन्थ्यो । ‘अहिले त कुलोमा नदीको पानी चढ्नै सक्दैन,’ स्थानीय विकास सरदारले भने ।

रातु नदीको बाढीबाट बस्ती र उब्जाउ खेत जोगाउन बाँध बनाइएको थियो । ‘जनताको तटबन्धन’ भनिने यस्तो बाँधलाई नदीजन्य पदार्थ ढुवानी गर्न भन्दै क्रसर उद्योगीले भत्काइदिएका छन् । भत्किएको ठाउँबाट रातुको बाढी सोझै स्थानीयको खेतमा पस्छ । जसका कारण बालीमा क्षति पुग्ने गरेको छ । भंगहा–४ का ७३ वर्षीय चौठी बातरले रातु नदीको बाढीले पलार बस्तीभन्दा दक्षिणको ५० बिघाभन्दा बढी खेत कटान गरेको बताए । रातुको बाढीले चौठीको मात्रै एक बिघाभन्दा बढी जग्गा कटान गरेको छ । ‘बाँध मर्मतका लागि नगरपालिका, नदी नियन्त्रण कार्यालय जलेश्वर पटक–पटक गयौं । तर हाम्रो कुरा कसैले सुनेनन्,’ चौठीले भने । – कान्तिपुर

ADVERTISEMENT

प्रतिक्रिया दिनुहोस् !

mm

सन्तोष सिंह

सम्बन्धित खबर

Banner News

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

मधेश प्रदेश

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

Banner News

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

Banner News

ढल्केवरमा एक युवकको शव फेला

Banner News

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

Banner News

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

Load More

ताजा अपडेट

बर्दिबास १३ अपडेट : एमालेको अग्रता कायमै

महोत्तरीको बलबा ११ मा नेकपा माओवादीबाट अध्यक्षमा ३४४ मतले यादव बिजय

जनकपुरको ताजा अपडेट : मतान्तर बढाउँदै काँग्रेसका बागी उम्मेदवार (घण्टाघर) १५८७ ले अगाडि

ढल्केवरमा एक युवकको शव फेला

सोनमा ८ मा नेपाली काँग्रेसबाट सिंह बिजयी

औरही नगरपालिकामा लोसपाबाट वडा नं १ मा चौधरी ४ मतले प्यानल सहित विजयी

बर्दिबास १३ को ताजा अपडेट : एमालेको २३५ मतले अग्रता कायम

जनकपुरका युवा अभियन्ता मिश्र पक्राउ

भाईरल समाचार

  • मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन हेर्नुहोस् !

    0 shares
    Share 0 Tweet 0
  • TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

    0 shares
    Share 0 Tweet 0
  • टिकटके प्रहरी बढ्दै, ‘युनिफर्म’ दुरुपयोग गरेको भन्दै कारबाही गर्ने प्रहरीको चेतावनी

    0 shares
    Share 0 Tweet 0
  • होनहार TIKTOK स्टारहरु गल्तीले म्यादी प्रहरी बने पछी…

    0 shares
    Share 0 Tweet 0

समृद्धि मिडिया कन्स्लट्यान्सी ट्रेनिङ्ग एण्ड मिडिया सेन्टर प्राली द्वारा संचालित शिरीष न्युज डटकम पल पलको जानकारी सूचना विचार खोज्नेहरुको …विस्तृत

 

हामी पूर्णतः कानुनी छौँ

सूचना विभाग दर्ता नं. : २७६५/०७७/७८
प्रेस काउन्सिल सूचिकृत : १९८/०७७/०७८
कम्पनी रजिष्टार दर्ता नं.: २२७११५/०७६/०७७
राजस्व विभाग (VAT) : ६०९६४८६२३

हाम्रो समूह

सञ्चालक/सम्पादक

अजय कुमार साह
[email protected]
9807675125,9844025184

समााचारदाता

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’
9807850581
[email protected]om

बिजय कुमार साह
9804840605
[email protected]

  • About Us
  • Contact Us
  • Privacy Policy

© 2021- SHIRISH NEWS

  • होमपेज
  • समाचार
    • राजनीति
    • समाज
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • मनोरञ्जन
    • कला/साहित्य
    • धर्म/संस्कृति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • विचार
  • विविध
    • अर्थ/वाणीज्य
    • फोटो फिचर
    • अन्तर्वार्ता
    • कृषि
    • पत्र-पत्रिका
    • रोचक विश्व
    • विज्ञान/प्राविधि
  • English