काठमाडौं । सोमबार दिउँसो त्रिभुवन विमानस्थलमा भारतीय कांग्रेसका नेता राहुल गान्धी आएपछि राजनीतिक वृत्तमा यसको चर्चा चल्न थालेको छ । उनी सुटुक्क आज काठमाडौंमा आइपुगेका थिए ।
विमानस्थलबाट राहुल सोझै होटल मेरिएट पुगेका छन् ।
राहुल यसअघि पनि अनौपचारिक भ्रमणमा नेपाल आएका थिए । त्यति बेला उनी नेपाल आउँदा भारतमा समेत यसको व्यापक चर्चा भएको थियो । यसपटक राहुल अनौपचारिक कार्यक्रमका लागि नेपाल आइपुगेका हुन् ।

उनी एक विवाहको कार्यक्रममा सहभागी हुँदैछन् । यो विवाह हो, उनकी साथी तथा पत्रकार सुम्निमा उदासको । सुम्निमा उदासले लामो समय दिल्लीमा बसेर पत्रकारिता गरेकी थिइन् । उनले सिएनएनका लागि पत्रकारिता गरेकी थिइन् ।


म्यानमारका लागि पूर्व नेपाली राजदूत भीम उदास र रन्जना उदासकी छोरी सुम्निमाको मंगलबार निमा मार्टिन शेर्पासँग विवाह हुँदैछ । यही विवाहमा सहभागी हुन राहुल नेपाल आएका हुन् ।
नेपाल बसाइमा उनले केही पर्यटकीय स्थलको भ्रमण गर्न सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् !