महोत्तरी।इस्लाम धर्मावलम्वीको पवित्र पर्वईद उल अजहा बकर ईद सम्पूर्ण जातजाती र धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने विश्वास औरही नगरपालिका नगर प्रमुख सुनिल कुमार यादव,रामगोपालपुर नगरपालिका नगर प्रमुख अशोक कुमार मण्डल,भंगहा नगपालिका नगर प्रमुख संजिव साह र लोहपट्टि नगरपालिका नगर प्रमुख शैलेन्द्र यादवले व्यक्त गरेका छन् ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन नगर प्रमुखहरुले आग्रह पनि गरेका छन् ।
ईदको अवसरमा सबै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै नगर प्रमुखहरुले पवित्र ईद पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।
लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बीको महत्वपूर्ण योगदान रहँदै आएको स्मरण गर्दै नगर प्रमुखहरुले लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार हुने उल्लेख गरेका छन् ।