
जनकपुरधाम - नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको कमला नदीले कटान गरेको स्थलको अनुगमन गरेका छन् ।

उपसभापति निधिले कमला नदिमा आएको बाढीका कारणले धनुषाको सवैला नगरपालिका-१३ किरतपुर सहितको ठाउँमा करिब ७ सय मिटरमा तटबन्ध नै कटान गरेर बस्ती जोखिममा परेपछि स्थलगत अनुगमन गरेर कटान रोक्नका लागि भएको प्रयासबारे जानकारी लिएका हुन् ।

उनले कमला नदी नियन्त्रण आयोजना जनकपुरधामका प्रमुख डिभिजनल इन्जिनियर एकराज भट्टराईसंग प्राविधिक पक्षको बारेमा जानकारी समेत लिएका थिए ।
कमला नदीले बाँध कटान गरेपछि धनुषाको सवैला, कमला, शहिदनगर नगरपालिका तथा जनकनन्दनी गाउँपालिका उच्च जोखिममा रहेको छ ।

नदी कटानको स्थलगत अनुगमन पश्चात उपसभापति निधिले बाँध कटान नियन्त्रणका लागि श्रोत साधनको कमी हुन नदिने बताए। उनले कमला नदीवाट हुन सक्ने क्षतिबाट आम जनता जोगाउनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

त्यसैगरी नेता निधिले सप्तरीमा बलान नदीले गरेको कटान र त्यसबाट उत्पन्न समस्याबारे जानकारी लिएका हुन् ।स्थानीयवासीले बलान नदीवाट भोग्नुपरेका समस्या उपसभापति निधिलाई जानकारी दिएका थिए ।

नेता निधि संग नदीले गरेको कटानबाट भएको क्षतिबारे जानकारी लिन प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादव समेत रहेका थिए ।