
महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश गरिएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकाल सहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गर्नुभएको हो ।अध्यक्ष ढकाल, जनकपुर धामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको सो उद्योगमा लगानी रहेको छ । उहाँहरूले आज संयुक्तरुपमा उद्योप स्थापनाको शिलान्याश गर्नुभएको हो ।
आइएमइ समूहद्वारा प्रवर्द्धिधत यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम शुरु गरिने जनाइएको छ ।
उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने छ। उद्योग सञ्चालनमा आए लगत्तै कम्तीमा एक सय जनाले तत्काल रोजगार पाउने बताइएको छ । सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिनुभयो ।
नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताउनुभयो । आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् ।रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।



