
ढल्केवर (धनुषा)- उधम विकास सहजकर्ता संघको प्रदेशस्तरीय गोष्ठि ५ बुँदे घोषणापत्र जारी गर्दै धनुषाको ढल्केवरमा बुधबार सम्पन्न भएको छ । गोष्ठिबाट जारी गरेको घोषणापत्रमा उधम विकास सहजकर्ताहरुको संस्थागत विकास गर्ने, दरबन्दी कायम गराई उनीहरुलाई स्थायी गर्ने र विपन्नका लागि स्वरोजगार मुखी कार्यक्रम सञ्चालनमा जोड दिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
उद्यम विकास सहजकर्ता संघ प्रदेश २ का अध्यक्ष पञ्चा पण्डितको अध्यक्षता तथा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको प्रमुख आतिथ्यमा गोष्ठीको आयोजना गरिएको थियो ।
कार्यक्रममा संगठनको परिचय तथा गोष्ठीको उद्देश्यलगायतको बारेमा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघका केन्द्रिय अध्यक्ष देवकी घिमिरेले प्रकाश पारेका थिए । उनले सातै प्रदेशमा प्रदेशस्तरिय गोष्ठीको आयोजना गर्न लागिएको पनि जानकारी दिए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले हरेक क्षेत्रमा छाता संगठन अतिआवश्यक भएको बताए । उनले आ—आफ्नो क्षेत्रमा छाता संगठन एक किसिमको शक्ति भएको औल्याएका थिए । मेयर महतोले उद्यम विकास सहजकर्ताको हकअधिकारका लागि महासंघ थप शसक्त भुमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
गोष्ठीमा उद्यम विकास सहजकर्ताहरुलाई संस्थागत गर्ने, उनीहरुको दरबन्दी स्थायी गराउने, विपन्न वर्गलाई स्वरोजगार बनाएर उद्यमी बनाउने लगायतको विषयमा चर्चा परिचर्चा भएको थियो ।
गोष्ठीको बन्द सत्रमा गत आर्थिक वर्षको समिक्षा तथा चालु आर्थिक वर्षकोलागि रणनीति तथा कार्ययोजनालगायतको विभिन्न ५ बुँदामा छलफल भएको उद्यम विकास सहजकर्ता संघ प्रदेश २ का अध्यक्ष पञ्चा पण्डितले बताए ।
उद्यम विकास सहजकर्ता शिव शंकर महतोले गोष्ठीको सहजीकरण गरेका थिए । गोष्ठीमा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघका केन्द्रिय सदस्य मनोज कुमार साह, प्रदेश नं २ का विभिन्न स्थानका उद्यम विकास सहजकर्ता, विभिन्न पालिकाहरुको फोकल पर्सन, संचारकर्मी लगायतको उपस्थिती थियो ।