
महोतरी । जिल्ला अदालत महोत्तरीले समयमै न्याय नदिदा पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका १ हजार ५ सय बचतकर्ताहरु मर्कामा परेका छन ।
छिटो छरितो र प्रभावकारीन्यायका लागि २०७५ साउनमै पञ्चवर्षिय योजना बने पनि न्यायको तल्लो निकाय जिल्ला अदालत महोतरीमा प्रगति देखिएन । सहकारीका बचतकर्ता अजय साह सहित २६ जनाले आफूहरुले जम्मा गरेको ४ करोड ८३ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेको र हिनामिना गरेको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा ३७ एजेन्ट र सञ्चालकविरुद्ध २०७५ साउन २८ मा जिल्ला अदालत महोतरी ठगी मुद्दा दर्ता गरेका थिए ।
२३ जनालाई अदालतले विभिन्न मितिमा धरौटीमा रिहा गरेको छ । उजुरी दिएको तीन वर्ष बित्दा पनि अदालतले अनुसन्धानमा चासो नदिएको आरोप पीडितहरुको रहेको छ ।
जिल्ला प्रहरी कार्यालयमा २६ जनाको निवेदन अनुसार २ करोड २९ लाख १३ हजार २ सय ६६ रुपैयाँ ठगीको देखिन्छ । अझै पनि २ करोड ५३ लाख ८६ हजार ७ सय ३४ रुपैयाँको जाहेर आएको छैन । बचतकर्ताहरूलाई धेरै व्याज हुने, चाहिएको बेला सहजै ऋण लिन सकिने भनेर प्रलोभनमा पारेर बचत गराउने र आफ्नो स्वार्थमा सहकारीको रकम चलाउने गरेका पाइन्छ । सहकारीका पदाधिकारीहरूले पूर्व योजना नै बनाएर ठगेको देखिन्छ । सहकारी सञ्चालकले साना वचनकर्तालाई आश्वासन दिएर लोभ्याउने र रकम सङ्कलन गरेर मनलाग्दी खर्च गर्ने गरेको पाइएको छ ।
सहकारीको ठगी प्रकरण सामान्य जस्तो देखिए पनि यसको जालो र सञ्चालकहरूले गरेको बदमासी हेर्ने हो भने आङै सिरिङ बनाउने प्रकारको छ । ठगिएका कति हुन् अझै एकिन छैन ।
पाँच वर्षदेदिेखि पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड जलेश्वरका सञ्चालक समितिका पदाधिकारीहरु कार्यालय बन्द गरेपछि १ हजार ५ सय सर्वसाधारणको निक्षेप पनि जोखिममा परेको छ । जिल्ला अदालत महोतरीका श्रेस्तेदार मदन प्रसाद जसवालले बैशाख २२ गतेदेखि कोरोना कहरका कारण लाँकडाउन भएकाले न्याय सम्पादनमा दिलो भएको बताए ।