
सप्तरी। मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवति मन्दिरको मुकुट चोरीको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ५ मझाउ गाउँ बस्ने २३ वर्षीय राजेश कुमार मण्डल रहेका छन् । सोमबार बिहान ७ बजेतिर उनकै घरबाट मुकुट सहित पक्राउ परेका थिए ।
उनको साथबाट अघिल्लो दिन आइतबार साँझ ७ः३० बजेतिर छिन्नमस्ता भगवतीको मस्तकबाट चोरी गरिएको ५ सय ८ ग्राम तौलको चाँदीको मुकुट समेत प्रहरीले बरामद गरेको छ । बिहान ७ बजेतिर मुकुट चोरेर लगेका मण्डल आफ्नै घरमा रहेको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रमुख (एसपी) प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।अनुसन्धानको क्रममा उनको मानसिक अवस्था भने ठीक नरहेको र उनले गाउँमै मन्दिर बनाउने भनी योजनाका साथ उक्त मुकुट झिकेर कालो ब्यागमा राखी निस्केको अनुसन्धानको क्रममा देखिएकोछ ।
अघिल्लो दिन साँझ ७ः३० बजेतिर मन्दिरका पूजारीहरु सन्ध्याकालिन आरतीका लागि मन्दिर परिसरमै रहेको पोखरीतर्फ लागेका बेला उनी भित्र छिरेको प्रहरीको भनाई छ । मन्दिरका मूल पूजारी उमेश ठाकुरको छोराको मृत्यु भएका कारण एक सातायता मन्दिरको सरसफाई र नियमित पूजापाठका लागि स्थानिय जानकार ब्राह्मणलाई जिम्मा दिइएकोमा लापरवाहीका कारण यस्तो अप्रिय घटना भएको छिन्नमस्ता मन्दिरका पीठाधिश महाकान्त ठाकुरले बताए ।
तीन दिन भित्र मुकुट नभेटिए आत्महत्या गर्ने मनसाय बनाएको पीठाधिस ठाकुरले बताए । उनले भने, “माताको कृपाले चोर र मुर्ती दुबै फेला परे र आफ्नो तनाव पनि हट्यो ।” उनले घटनाका बेला आफू काम विशेषले भारतको महादेवमण्ठतर्फ गएको र छोरा दिपकले चोरी घटना बारे जानकारी गराएपछि तत्कालै फर्किआएको बताए ।
अनौठो र रहस्यमय मानिएको उक्त घटनापछि आक्रोसित स्थानियले रातभर मन्दिर समिति, पूजारी र प्रहरी बिरुद्ध चर्को नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय छिन्नमस्तामा धर्ना समेत दिएका थिए । सोमबारदेखी आन्दोलन चर्काउने घोषणासहित तयारी पनि थालिएको थियो । माहौल तात्दै गएपछि प्रहरीले भारतीय सीमासँग जोडिएको सिमा नाका सिल गर्नुका साथै तीन जना पूजारीलाई समेत नियन्त्रणमा लिई सोधपुछ र चोरको खोजतलास तिब्र बनाएको थियो ।
यता पक्राउ परेका मण्डललाई सोमबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई चोरी मुद्दामा पक्राउ पूर्जी समर्थन गराई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।