
भङ्गाहा (महोत्तरी)- नेपालको वाम-प्रजातान्त्रिक आन्दोलनका पुराना योद्धा महोत्तरीबासी राजवीर यादवको आज शनिबार साँझ अन्तेष्टि सम्पन्न भएको छ । महोत्तरीको भङ्गाहा-९ सखुवाटोलका बासिन्दा यादवको आज साँझ पैत्रिक बस्तीकै अत्यन्त पवित्र मानिने कञ्चनवन समिप बिग्ही नदी तटमा अन्तेष्टि सम्पन्न भएको हो । स्व. यादवको पार्थिव शरीरमा एमाले नेतृ तथा प्रदेशसभा-२ सदस्य शारदा थापाले पाटी झण्डा ओढाएर सम्मान गरेपछि उहाँका जेष्ठ पुत्र अजय यादवले मुखाग्नी दिनु भएको थियो । यादवको आज शनिबार मध्यान्हतिर अकष्मात हृदयघातबाट ७० वर्षको उमेरमा निधन भएको हो । पञ्चायतकालका कठोर समयमा तत्कालीन विष्णुबहादुर मानन्धर नेतृत्वको कम्युनिष्ट पार्टीमा २०२९ सालमा आवद्ध भई बहुदलीय प्रजातान्त्रिक पद्धतिको पुनःस्थापनाका लागिका आन्दोलनमा यादव सधैं अग्रमोर्चामा रहनुहुन्थ्यो । विक्रम सम्वत २०४९ सालमा मानन्धर समूहबाट नेकपा (एमाले) मा समाहित हुनुभएका यादव त्यसयता निरन्तर सो दलमा आवद्ध रहनुभयो । यादव पछिल्लो समय मदन भण्डारी फाउण्डेशनको भङ्गाहा नगर समितिका अध्यक्ष हुनुहुन्थ्यो । मुखाग्नी दिनअघि स्व. यादवको पार्थिव शरीरमा मदन भण्डारी फाउण्डेशनका महोत्तरी अध्यक्ष गोपाल बराल , एमालेका राष्ट्रिय प्रतिनिधि परिषदका सदस्यहरु र अन्य बिभिन्न दलका प्रतिनिधि र सामाजिक कार्यकर्ताले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।
सादा र सरल जीवन पद्धति अँगाल्नु भएका स्व. यादव प्रजातान्त्रिक निष्ठाप्रति अन्तिम समयसम्म प्रतिवद्ध रहनु भएको उहाँकै समवयका नेपाली काँग्रेसका नेता विष्णुदेव यादव बताउनुहुन्छ । विगतमा पञ्चायतको उपयोग गर्ने नीति मानन्धर नेतृत्वको नेकपाले लिदा यादव तत्कालीन भङ्गाहा गाउँपञ्चायतको उपप्रधानपञ्च र प्रजातन्त्र पुनःस्थापनापछि एमालेबाट २०४९ मा तत्कालीन हरिहरपुरहरिनमरी गाविसको उपाध्यक्ष निर्वाचित हुनु भएको थियो ।
चार छोरा र एक छोरीका पिता यादवकी धर्मपत्नीको यस अघि नै निधन भई सकेको छ । यादवको निधनमा एमाले महोत्तरीका अध्यक्ष टेकबहादुर बलम्पाकी, मदन भण्डारी फाउण्डेशनका महोत्तरी अध्यक्ष बराल र भङ्गाहा नगरका राजनीतिक दलले छुट्टाछुट्टै शोक विज्ञप्ती जारी गरेर दुःख प्रकट गर्नु भएको छ ।