
बर्दिबास- महोत्तरीको बर्दिबासमा आज शनिबार नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनले मोटरसाइकल र्याली प्रदर्शन गरेको छ । सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्दै जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरी रहेकै बेला सरकारले भूमिसम्वन्धी समस्या सामाधान आयोग विघटन गरेविरुद्ध सङ्गठनले बिरोध र्याली आयोजन गरेको हो । बर्दिबास-१ स्थित साझा संस्था भवन परिसरबाट शुरु भएको र्यालीमा सयौं सङ्ख्यामा मोटरसाइकल सहभागी गराइएको थियो । बर्दिबासमा वर्षौदेखि जेलिएको सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानतिर गई रहेकै बेला सरकारले हठात आयोग विघटन गरेको हुँदा विरोध गर्नु परेको सङ्गठनका उपाध्यक्ष गुञ्जबहादुर खड्काले बताउनुभयो । र्याली बर्दिबासका बिभिन्न भेगको परिक्रमा गर्दै बर्दिबासचोकमा समापन गरिएको छ । समापनमा विघटित आयोगका महोत्तरी अध्यक्ष राजेन्द्र साहले आयोगले काम अन्तिम चरणमा पुर्याउनै लागेको बेला सरकारले विघटन गरेर जनविरोधी रवैया देखाएको आरोप लगाउनुभयो । आयोगले महोत्तरीको सन्दर्भमा बर्दिबास नगरपालिकाको ७५ प्रतिशत काम सम्पन्न गरेको साहको दाबी छ । कार्यक्रममा एमाले नेतृ बुधनीदेवी महतो र भूमि अधिकारकर्मी फौदसिंह स्याङ्वाले आयोग विघटनको निणर्य फिर्ता लिई अविलम्व अधुरा काम पुरा गर्न सरकारसँग माग गर्नुभयो । सरकारले आयोग पदाधिकारी हेरफेर गरेर आफ्ना विश्वासी राख्नसक्ने विकल्प छँदाछँदै आयोग नै विघटन गरेविरुद्ध बर्दिबासमा दैनिकजसो बिरोध कार्यक्रम आयोजन हुँदै आएका छन् । वर्तमान सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस र सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने आयोगलाई एमालेले एकलौटी कार्यकर्ता भर्ती गर्ने थलो बनाएको हुँदा विघटन गर्नु परेको बताउँदै आएका छन् ।