
सर्लाही। जिम्मेवार पदमा रहेर देश र जनताको लागि काम गर्ने जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारी र तिनका नातेदारले नै ट्राफिक नियमको धज्जी उडाएको पाइएको छ ।
समाजको नेतृत्व गर्ने स्थानीय सरकार प्रमुखका आफन्तहरु उनीहरुको पदको र्वाफ देखाउनकै लागि पनि ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन चलाएको पाइएको छ । चुनाव जितेपछि गाउँपालिका तथा नगरपालिकाबाट कार्यालयको कामको लागि दिएको सरकारी नम्बर प्लेटको मोटरसाइकल सर्लाहीका धेरैजसो वडाध्यक्षहरुले आफ्ना नजिकका नातागोतालाई चलाउन दिने गरेका छन् ।
यसरी चलाउन भनि दिएको सरकारी मोटरसाइकल कार्यालयको काममा प्रयोग हुनुको साटो ब्यक्तिगत काममा प्रयोग हुने गरेको छ । ति मोटरसाइकलहरु घर खेतको कामदेखि जन्ती जान र नेपालबाट भारत र भारतबाट नेपालमा सामानहरु ओसारपसारको काममा प्रयोग भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
हेलमेट समेत नलगाई मोटरसाइकल चलाउने क्रम पनि जिल्लामा अहिले बढेको छ । सहरी क्षेत्रमा हेलमेट लगाए पनि गाउँघरमा कोहीकोहीले मात्र हेलमेट लगाएर मोटरसाइकल चलाउने गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए । जिल्लाको उत्तरी भेगको तुलनामा दक्षिणी तथा पश्चिमी भेगका अधिकांश ठाउँमा यस्तो समस्या देखिएको हो । सो क्षेत्रका अधिकांश जनप्रतिनिधि तथा कर्मचारीहरु कार्यालय जाँदा होस् अथवा अन्य कुनै सार्वजनिक कार्यक्रममा जाँदा हेलमेट नलगाइ जाने गरेका छन् ।
पूर्व पश्चिम राजमार्ग बाहेक भित्री गाउँका सडकमा खासै सवारी चेकजाँच नहुने भएकोले ट्राफिक नियम उल्लघंन गर्नेहरु बढेका हुन् । जिम्मेवार जनप्रतिनिधीहरुले नै नियम कानुनलाई लत्याइरहेका कारण समाजमा गलत सन्देश गइरहेको जानकारहरुले बताएका छन् ।
सर्लाहीको ग्रामीण भेगमा कागजपत्र नबोकी र हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाउँदा दैनिक जसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालय नवलपुरले बताएको छ । कागजपत्र नै नभएका र नम्बर प्लेट समेत नलेखिएका सवारीहरु खुलेयाम रुपमा गुड्दा दुर्घटना भएपछि पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन समेत मुस्किल पर्ने गरेको ट्राफिक प्रहरीले बताए ।