
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका वडा नं. ७ एक्लेवरकी एक विपन्न सुत्केरीलाई आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावका कारण घरमै सत्केरी भएकी ३७ बर्षीया सीता पुलामीलाई खानपिनको समेत समस्या रहेको जानकारी पाएपछि भष्मेश्वर महादेव मन्दिरको तर्फबाट शुक्रबार नगद पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज बस्नेत, कोषाध्यक्ष गणेश यादव र स्थानीय युवा श्याम चौहानले घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले भक्तजनले मन्दिरमा चढाएको भेटीबाट केही रकम विपन्न सुत्केरीलाई सहयोग गरेको बताए ।
स्थानीय युवा चौहानले थप आर्थिक सहयोग जुटाउन पहल गरिरहेको र नीज महिलाको १५ बर्षिय जेठो छोरा कमल पुलामीको शरीरमा घाउ पलाएर शरीरको मासु झर्ने समस्याबाट ग्रसित रहेकोले उनको पनि उपचारका लागि आर्थिक बन्दोबस्त गरिहेको जनाए । उनले उदार मन भएको व्यक्तिलाई सहयोग उपलब्ध गराइदिन अपिल समेत गरे ।
सुत्केरीअघि स्वास्थ्य सेवाबाट बञ्चित ति महिलाले सुत्केरी पश्चात आमा र जन्मजात बच्चाले पाउनपर्ने स्वास्थ्य सेवा समेत पाएकी छैनन् । बाबूले आफ्नै जमिनमा निर्माण गरिदिएको टहरोमा बसोबास गर्दै आएकी १४ दिनको सुत्केरी पुलामीलाई सामान्य दालभात खान पनि बडो मुश्किल छ । आर्थिक अभावले पिरोलिएकी सीतालाई छिमेकीले दिए खाने नभए भोकै सुत्नुपर्ने अवस्थामा छिन् ।
श्रीमान श्याम बहादुर पुलामी दैनिक ज्यालामजदुरी गरेर छाँक टार्दैआएका थिए । तर निषेधाज्ञासँगै काम पाउन छोडेपछि आर्थिक अभावमा घेरिएको छ ।
आर्थिक अभाव झेलिरहेकै बेला परिवारको जेठो छोराको शरीरबाट मासु झर्ने रोगबाट ग्रसित भएपछि एक सातासम्म रोग पालेर बस्न विवश भएका थिए । तर एकजना यस्तै मनकारीले लालगढस्थित कुष्ठरोग अस्पतालमा भर्ना गराइदिएपछि उनमा अलि सुधार आएको छ ।


