
जनकपुरधाम - १६ साउनमा धनुषाको मिथिला नगरपालिका वडा ७ एक्लेवरकी ३७ वर्षीया सीता पुलामी सुत्केरी हुँदा पनि भोकै बस्न बाध्य छिन्।
घरमा अन्नको गेडा नभएपछि उनले पोसिलो खानेकुरा त के पेटभरि दालभात पनि खान पाएकी छैनन्। दैनिक ज्याला मजदुरीको काम गरेर छाक टार्ने गरेकी सीता सुत्केरी अवस्थामै अभाव झेल्न बाध्य भएकी छन्।

‘श्रीमान् श्याम र म मजदुरी गरेरै खाने खर्च जुटाउँथ्यौँ’, सीता दुःखेसो पोख्छिन्, ‘काम खोसिने र सुत्केरी हुने समय एकै पटक भयो। धन्न भोकले मरिएन।’
‘सुत्केरी भएकै दिनबाट पेटभरि खाएकी छैन। आफूले खान नपाएपछि बच्चालाई दूध पनि आउँदोरहेनछ,’ सीता दुःख भन्छिन्, ‘आफू त भोको पेट कसेरै बस्छु। यो चिचिला बच्चालाई दूध चुसाउन नपाउँदा धरधरी आँसु बग्छ।’
सुत्केरी भएका बेला आमा र शिशुको स्वास्थ्यका लागि पोषणयुक्त खानेकुरा खानुपर्ने बेला हो। तर कोरोना सन्त्रासका कारण बजारमा काम नपाई विपन्न वर्गका धेरै महिला पोषणयुक्त खानेकुरा खान होइन, भोको पेट कसरी भर्ने समस्यामा छन्। कोही भोकभोकै छन्, कोहीले सीमित राहत र मागेरै गुजारा चलाएका छन्।
दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सीता बस्ने यस बस्तीका अधिकांशलाई छाक टार्न धौधौ परेको छ।
दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आएका श्यामको पनि लकडाउनपछि आम्दानी छैन। भने, ‘सुत्केरी श्रीमती घरमा छिन्। सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोसिलो खानेकुरा त परै जाओस् साँझ बिहान दुई छाक खाने अन्नसमेत छैन।’
उनीहरूका १५ वर्षका जेठा छोरा कमल पनि शरीरमा घाउ पलाएर शरीरको मासु झर्ने समस्याबाट ग्रसित छन्। एउटा टहरोमा बसोबास गर्दै आएकी १४ दिनकी सीतालाई सामान्य दालभात खान पनि बडो मुश्किल छ।

श्याम बहादुर पुलामी दैनिक ज्यालामजदुरी गरेर छाक टार्दै आएका थिए। तर निषेधाज्ञासँगै काम पाउन छोडेपछि आर्थिक अभावमा घेरिएको हो।
छोरा कमललाई पनि एक जना मनकारीले लालगढस्थित कुष्ठरोग अस्पतालमा भर्ना गराइदिएपछि उनमा अलि सुधार आएको छ। उनीहरूको घरमा चुलो बाल्ने उपाय नभएपछि शुक्रबार भष्मेश्वर महादेव मन्दिरको तर्फबाट पाँच हजार रुपैयाँ आर्थिक सहयोग भएको छ।
मन्दिर व्यवस्थापन समिति अध्यक्ष मनोज बस्नेत, कोषाध्यक्ष गणेश यादव र स्थानीय युवा श्याम चौहानले घरमै पुगेर आर्थिक सहयोग गरेका हुन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले भक्तजनले मन्दिरमा चढाएको भेटीबाट केही रकम विपन्न सुत्केरीलाई सहयोग गरेको बताए।
हाम्रा सहकर्मी विजयकुमार साहको सहयोगमा तयार सामग्री