
काबुलबाट १२७ नेपालीको उद्धार गरी अमेरिकाले काठमाडौं ल्याइदियो अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । अमेरिकी चार्टर बिमानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल झरेका हुन् ।
अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्याएको थियो । तीमध्ये १ सय २७ जना मंगलबार बिहान नेपाल आइपुगेको एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले बताए ।
गुरुङकै कम्पनीले यी सुरक्षागार्डलाई अमेरिकी दूतावासमा काम गर्ने गरी अफगानिस्तान पठाएको थियो । उनीहरूलाई दाेहाबाट कुवेतको अल–जजिरा विमानस्थल लगी त्यहाँबाट नेपाल ल्याइएको हो । दोहामा रहेका अन्य नेपाली सुरक्षागार्डलाई पनि क्रमश: उद्धार गरेर ल्याउने तयारी रहेको गुरुङले जानकारी दिए ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको घोषणासँगै त्यहाँ द्वन्द्व झन् चर्किएको छ । विद्रोही तालिबान समूहले त्यहाँको सत्ता फेरि कब्जामा लिएको छ ।
राष्ट्रपति असरफ घानी देश छाडेर हिँडिसकेका छन् । त्यहाँ अझै थुप्रै नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरूलाई नेपाल फर्काउन पाकिस्तान सरकारले पनि समन्वय गर्ने भएको छ ।