
परिवारले शव अझै बुझेनन्
सर्लाही - खोलामा गाडिएको अवस्थामा सर्लाहीमा गत मंगलबार राति एक किशोरीको शव फेला परेको थियो। परिवारले किशोरीको शव अझै जिम्मा लिन मानेको छैन।
शवको गत बुधबार नै पोस्टमार्टम भइसकेको छ। तर, किशोरीका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै अपराधिलाई हदैसम्मको कारबाही माग गर्दै शव बुझ्न मानेका छैनन्।
स्थानीयको दवावमा रहेको प्रहरीले हत्या आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी–१७ रानीगन्ज गाउँका १८ वर्षीय किसन साह र १९ वर्षीय अनिश दाहाल रहेका छन्। किशोरी पनि सोही गाउँकी हुन्।
किशोरी बेपत्ता भएसँगै उनीहरू लुक्दै आएका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि शव फेला पारेको हो।
मृतकका बाबु राजेश भुजेलका अनुसार १४ वर्षीया प्रियंका ३१ (आइतबार) बेपत्ता भएकी थिइन्। मंगलबार मात्रै प्रियंकाको शव घरदेखि तीन किलोमिटर पर कालिन्जोर खोलामा गाडिएको अवस्थामा फेला परेको थियो।
प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै दुवैलाई सार्वजनिक गरेको छ। किशोरीको दाहालसँग प्रेम सम्बन्ध रहेको र गाउँसमाजले थाहा पाउने डरले हत्या गरेको हालसम्मको अनुसन्धानमा खुलेको एसपी सन्तोषसिंह राठौरले बताए। मृतकको भिसेरा, भजाइनल स्वाबको रिपोर्ट र फोन कल डिटेल आउन बाँकी नै रहेकाले प्रहरीले जनाएको छ।