
जनकपुरधाम -पालिका अधिवेशनको मिति आउन तीन दिन बाँकी रहँदा सम्म प्रदेश २ को जिल्लाको वडा अधिवेशन सुरु नै नभएको नेपाली कांग्रेसको निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि क्रियासिल सदस्यता विवादको कारण प्रदेश २ मा वडा अधिवेशन नै अनिश्चित बनेको पछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको हो ।
यसरी प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील विवाद नटुंगिए पछि अधिवेशन सुरु हुन नसक्दा प्रदेश २ अधिवेशन शून्य प्रदेश बन्न पुगेको छ ।
प्रदेश २ मा आज विहिवार सम्म क्रियासिल सदस्यताको टुंगो लाग्न सकेको छैन् । केन्द्रिय सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधिको गृह जिल्ला धनुषामा पनि क्रियासिल सदस्यताको टुंगो लागि सकेको छैन् ।
क्रियासिल सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्यौलमा परेको नेकाँ धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी योगेन्द्र पजियारले जनाए ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर तथा निर्वाचन क्षेत्र नं. ४ का सभापति समेत रहेका पजियारले भने, ‘वडा अधिवेशन भदौ २६ र २७ गते हुने भने चर्चा चलेपनि त्यो अब संभव भने छैन, अधिवेशनका लागि क्रियासिल सदस्यताको नै टुंगो लागिसकेको छैन् ।’
त्यसैगरी युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिसोर सिंहले प्रदेश २ मा भदौ महिनामा अधिवेशन प्रारम्भ हुने संभावना नदेखिएको जनाए । धनुषा र बारा जिल्लामा क्रियासिल सदस्यको जति विवाद अन्य जिल्लाहरुमा देखिएको छैन् । तर सुची सार्वजनिक नहुँदा सबै अन्योलमा रहेको सिंहले बताए । प्रदेश २ मा संगठनात्मक संरचना काँग्रेसको सशक्त रहेपनि आन्तरिक विवाद उत्कर्षमा रहेको छ ।
अधिवेशनले काँग्रेसमा उर्जा भन्दापनि कलह बढाउने स्थिति देखिएको पुराना नेताहरु बताउँछन् । प्रदेश २ को सरकारमा सहभागि भएको काँग्रेसका तीन जना मन्त्री बीच पनि विवाद चुलिएको छ । त्यसमा पनि पार्टी विभाजित भएको छ ।