
जनकपुरधाम- प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै प्रदेश प्रहरी कार्यालयलाई सडक डिभाइडर हस्तान्तरण गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आज मंगलबार २ नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि थन्क्याएर राखिएका ४८ लाख मुल्य बराबरको साना तथा ठूला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो ।
सडक डिभाइडर हस्तान्तरण गर्दै मन्त्री रामसरोज यादवले आवश्यकता अनुसार जनकपुरधाम सहित प्रदेश २ को ८ वटै जिल्लाका मुकाममा भिडभाड तथा सवारीसाधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न निर्देशन समेत दिए।
मन्त्री यादवले डिभाईडरले सडक सुरक्षा गरिनुका साथै सडक दुर्घटना हुनबाट जोगाउन मद्दत पुर्याउने व्यक्त गरे । उनले भने, ‘यसले ट्राफिक व्यवस्थापन तथा दुर्घटना नियन्त्रणमा समेत सहयोग पुर्याउनुका साथै मानवीय तथा चौपाया समेतलाई सुरक्षा प्रदान गर्नमा मद्दत दिन्छ। सडक दुर्घटनाका कारण हुने जन र धनको क्षतिमा न्यूनीकरण हुने छ । ’
उनले ठाउँ ठाउँमा सडक संकेतको आवश्यकता रहेको भन्दै प्रदेश २ का प्रमुख बजारहरूको सडकपेटी अव्यवस्थित र व्यापारीबाट कब्जा गरिएको प्रति चिन्ता व्यक्त गरे ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामका मुख्य सडकखण्डमा अहिले कंक्रिटले बनाइएको डिभाइडर राखिएको छ । भिडभाड तथा सवारीसाधनको अत्याधिक चापले गर्दा समय समयमा दुर्घटना हुने गरेकाले सोको विकल्पको खोज्दै आवश्यकता अनुसार साना तथा ठुला खालका डिभाइडर राख्न धनुषा ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई मन्त्री यादवले निर्देशन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपाने लगायतको उपस्थिति थियो ।