
पर्सा — प्रहरीले हुन्डी कारोबारको आरोपमा वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–६ माईस्थान चोकका कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर–३ का दीपककुमार सोनार छन् ।
उनीहरूलाई माईस्थान चोकस्थित कन्हैयाप्रसादकै घरमा सञ्चालित जेपी ज्वेलरीबाट बुधबार साँझ नियन्त्रणमा लिइएको हो । कन्हैया पसलका सञ्चालक र दीपक कर्मचारी हुन् ।
उक्त पसलमा अवैध वित्तीय कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ बरामद भएको थियो ।
उनीहरूविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।