
धनुषा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले असोज पहिलो हप्ता भित्र सरकारले पूणर्ता पाउने दाबि गर्नुभएको छ।
शनिबार जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रशिक्षण कार्यक्रमको समापन पश्चात आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४/५ गतेभित्र सरकारले पूणर्ता पाउने पनि बताउनुभयो । उहाँले सरकार विस्तार बाहिर हल्ला भए जस्तो जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका कारण नअड्किएको बताउनुभयो ।
प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) भन्दा महत्वपूणर् पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उहाँले आफूहरुका लागि एमसीसी भन्दा गठबन्धन नै महत्वपूणर् रहेको बताउनुभयो।
उहाँले भन्नुयोे, ‘लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसीसीका कारण गठबन्धन फुट्दैन।’ उहाँले आफूहरु एमसीसी विरुद्ध नरहेको तर परिमार्जन सहित सर्वदलीय संयन्त्रबाट मात्र एससीसी पास गर्नुपर्नेमा जोड दिनुभयो ।
‘प्रचण्ड’ले एमसीसी केपी ओलीको प्रधानमन्त्रीकालमा तत्कालिन अर्थमन्त्रीले बिगारेको आरोप लगाउनुभयो ।
तत्कालिन अर्थमन्त्रीले एमसीसी बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेकोले यो बिग्रेको उहाँले भन्नुभयो । प्रचण्डको कथन थियो, ‘एमसीसी वा कुनै पनि मित्र राष्ट्रसँग विकास नगर्ने भन्ने हुँदैन, बरु एमसीसी सम्झौता जस्तो वास्तविक थियो, त्यसलाई बिगारिएको छ, केपी ओलीको पालामा अर्थमन्त्रीले बिगारेर संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवादित भयो, यो संसदबाट अनुमोदन गर्ने प्रावधान राखेसँगै विवाद सुरु भयो ।’
त्यसैगरी एमसीसीलाई अमेरिकाका केही मन्त्रीहरुले आफ्नो डकुमेन्टमा ईन्डो प्यासिफिक स्ट्राटेजीको अंग भनेपछि विवाद झन् चर्किको उहाँले बताउँदै भन्नुभयो, ‘अझ केपी ओलीको पालामा परराष्ट्रमन्त्री अमेरिका गएको बेलामा एउटा डकुमेन्ट के घोषणा भयो भने, आईपीएसको मेम्बर भएको घोषणा भएसँगै जनतामा गम्भीर किसिमको सवाल पैदा भएको छ, त्यसैले यी गलत ढंगबाट भएको घोषणा, पैसा र विकासको नाममा जे पनि लिन सकिँदैन, त्यसैले संशोधन र परिमार्जन भयो भने फेरि एमसीसी स्वीकार गर्न सकिन्छ ।’
उहाँले एमसीसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताउनुभयो ।
उहाँले सबैको सहमती मात्र यो अगाडि बढाउन सकिने कुरा अमेरिकाले पनि बुझेको बताउनुभयो ।