
औरही(महोत्तरी)- महोत्तरीको औरही नगरपालिकामा पर्ने श्रीपुर र कबिलासालाई जोड्ने जंघा खोलामा पक्की पुल निर्माण भएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको छ ।
तत्कालिन भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधि को बेला नेपाली काङ्ग्रेसका महोत्तरी जिल्ला सभापति महेन्द्र रायको पहलमा महोत्तरी जिल्लाको सोनमा,हर्षपुर र श्रीपुर लगाएत तिनै पुलको २०७२ सालमा एक्कै साथ सम्झौता गराई काम शुरु गरिएको थियो । हाल सबै पुल तोकिएको समय सीमाभित्र निर्माण भएपछि वर्षौंदेखिको त्यहाँको मुख्य समस्या हटेको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।

२९ करोड लगानीमा निर्माण भएको जंघा खोलाको पुल १९५.९५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको छ । पुल निर्माण तोकिएको समय मै सम्पन्न भएपछि त्यसको क्षेत्रमा चहलपहल बढ्न थालेको औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले बताए । उनले जंघा खोलामा पुल निर्माण भएपछि वर्षातमा ज्यान जोखिममा राखेर आवातजावत गर्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको बताए ।
उनका अनुसार पुल सञ्चालनमा आएपछि भारतीय बजार बाट आउने र एक नगरपालिकाबाट अर्को नगरपालिकाको व्यापारिक केन्द्र बीचको व्यावसायिक कारोवार वृद्धि हुन थालेको छ ।
पुल निर्माणले वर्षात्मा कबिलासादेखि सोनमा गाउँपालिका,सम्सी गाउँपालिका लगाएत भारतीय बजार क्षेत्रमा आवतजावत गर्न सहज भएको स्थानीय राकेश यादव बताउँछन् ।