महेन्द्रनगर- धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिज स्थित जनता माध्यमिक विद्यालयले शिक्षाको गुणस्तर तथा पाठनमा सुधारका लागि विद्यार्थीहरुबाट शुल्क लिने निर्णय गरेको छ ।
जनता माध्यमिक विद्यालयमा विहिवार भएको संयुक्त बैठकले विद्यालयको शैक्षिक अवस्था तथा पठन पाठनमा सुधार गरी गुणस्तर कायम गर्न विद्यार्थीहरुबाट वार्षिक रुपमा शुल्क लिने निर्णय गरेको हो ।
बैठकले विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुबाट वार्षिक रुपमा ३ हजार, कक्षा ८ का विद्यार्थीहरुबाट वार्षिक २४ सय, कक्षा ६ र ७ का विद्यार्थीहरुबाट वार्षिक २ हजार शुल्क लिने निर्णय गरेको छ । यस्तै कक्षा ५ का विद्यार्थीलाई वार्षिक ८ सय रुपैयाँ, ४ का विद्यार्थीलाई ७ सय, ३ का विद्यार्थीलाई ६ सय र कक्षा २ तथा १ कक्षाका विद्यार्थीबाट वार्षिक ५ सय रुपैयाँ शुल्क लिने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतोले जानकारी दिएका छन् ।
मिथिला नगरपालिकाको विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधी २०७७ को अनुसार सो निर्णय गरिएको जनाएको छ । सरकारले सामुदायिक विद्यालयमा माध्यमिक कक्षासम्मको शिक्षा निःशुल्क गरेको छ । तर, मिथिला नगरपालिकाको विद्यालय शिक्षा संचालन, व्यवस्थापन तथा नियमनका सम्बन्धमा बनेको कार्यविधी २०७७ को अनुसूची २५ को दफा ११ का उपदफा २ र ३ सँग सम्बन्धित रहेर शुल्क निर्धारणका आधारहरु अन्तर्गत सो शुल्क निर्धारण गरेको जनाएको छ ।
विद्यालयमा विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गएको र शिक्षक संख्या अपुग भएपछि विद्यार्थीको पठन पाठनमा समस्या आएपछि आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन गर्ने गरी सो निर्णय गरिएको अध्यक्ष महतोले बताएका छन् । नगरपालिकाबाट पटक पटक शिक्षक माग गर्दा पनि कुनै सुनवाई नभएपछि हाल विद्यालयको शैक्षिक गुणस्तर कायम राख्न तथा पठन पाठनमा सहजता ल्याउनका लागि संयुक्त बैठकबाट सो निर्णय पास भएको अभिभावक भेलाबाट अनुमोदन गराउने विद्यालयका प्रधानाध्याक श्याम कुमार यादवले जानकारी दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण महतोको अध्यक्षतामा भएको संयुक्त बैठकमा मिथिला नगरपालिका वडा नं।१ का वडाअध्यक्ष लक्ष्मी महतो, वडा नं २ का वडाअध्यक्ष विहारी महतो र वडा नं। ५ का वडाअध्यक्ष श्याम यादव लगायत जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकरी, स्थानीय राजनीतिकर्मी, समाजसेवी, शिक्षाप्रेमी, युवा क्लवका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
जनता माध्यमिक विद्यालय नक्टाझिजमा हाल कक्षा १ देखि ११ सम्ममा करिव १२ सय विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा मिथिला नगरपालिका वडा नं. २ नक्टाझिज, वडा नं.१ लक्ष्मीनिवास, वडा न। ५ श्रीपुर लगायत गाउँका विद्यार्थीहरु अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । विद्यालयमा हाल मावि तहमा २ जना र प्रावि तहमा ५ जना गरी ७ जना शिक्षक थप्नुपर्ने विद्यालयका प्रअ यादवको भनाइ छ । ७ वटा शिक्षक थप गरेपछि विद्यार्थीको चाप अनुसार पठन पाठनमान सहज हुने र शैक्षिक गुणस्तरमा वृद्धि हुने प्रअ यादवको दावी छ ।
जनता माध्यमिक विद्यालय नक्टाझिजले अहिले अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठन पाठन गराई रहेको छ । जसको कारण निजी स्कुल पढ्ने विद्यार्थीहरु समेत सो विद्यालयका पढाईप्रति आकर्षित भएपछि विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेको स्थानीयहरु बताउँछन् ।
विद्यालयमा हाल विद्यार्थीको चाप अत्यधिक भएपछि कक्षा कोठामा समेत अभाव भएको छ । जसको कारण विद्यार्थीको सेक्सन मिलाएर कक्षा संचालन गरिरहेको प्रअ यादव बताउँछन् ।
विद्यालयको सोहि बैठकबाट विद्यालयले किसानहरुलाई ठेक्कामा लगाएको खेती योग्य जग्गा जमिनको ठेक्का वापतको बाँकी वक्यौता रकम कडाईका साथ असुल गर्ने निर्णय समेत गरेको विद्यालयले जनाएको छ । विद्यालयले हाल किसानबाट जमिन ठेक्का वापतको पुरानो करिव ९ लाख रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।