
धनुषा- प्रदेश २ का सभामुख सरोज कुमार यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश २ संसदीय दलको नेता चयनबारे औपचारिक रुपमा जानकारी गराइएको छ ।
मंगलबार लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले संसदीय दलको नेता चयनबारेको औपचारिक पत्र सभामुख यादवलाई बुझाउनु भएको हो ।
सोनल सोमबार संसदीय दलको बैठकबाट निर्वाचन प्रक्रियामार्फत लोसपाको प्रदेश २ संसदीय दलको नेता चयन भएका थिए । लोसपाको सोमवार बसेको संसदीय दलको नेतामा जितेन्द्र सोनललाई सर्वसम्मतको प्रयास हुन नसकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुरले अबेर राती सम्म एक एक सांसदलाई एक्ला एक्लै बोलाएर उनिहरुको राय ( मत ) बुझ्नु भएको थियो ।
जस अनुसार सोनलको पक्षमा ९ सांसदले मत दिएका थिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिएका थिए । भने एकजनाले तटस्थ बस्ने बताएका थिए ।
त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निणर्य लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश सांसद बीच सुनाउनुभएको थियो ।
सोनल यसअघि तत्कालिन राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता हुनुहुन्थ्यो । उहाँ प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्रालय समेत सम्हाल्नु भएको थियो । केही महिनाअघि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षको भन्दै सोनललाई सरकारबाट हटाउनुभएको थियो ।
अब प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षको भूमिकामा रह्ने भएको छ ।
जसपा नेपाल नेतृत्वको प्रदेश २ सरकारमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेको छ भने १६ सांसद रहेको लोसपा प्रमुख प्रतिपक्ष र ८ सांसद भएको नेकपा एमालेले विपक्षी भूमिका निर्वाह गर्ने भएको छ ।