धनुषा - अवैध लागुऔषध गाँजा सहित एक महिला प क्राउ परेका छन्। लागुऔषध गाँजा र अनाधिकृत रुपमा विक्री वितरण गरिरहेको ठुलो परिमाणको औषधी सहित बुधवार प्रहरीले एक महिलालाई प क्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-४ पुष्पलपुर घर भई मिथिला नगरपालिका-६ ढल्केवरमा डेरा गरी बस्दै आएकी ३५ बर्षिया सुरेखा देवी यादव रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए। उनका अनुसार बुधवार दिउँसो लागुऔषध विक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा यादवले डेरा गरी बस्दै आएको घरको खानतलासी गर्दा १६० ग्राम गाँजा र अबैध रुपमा राखिएको ठुलो परिमाणमा औषधी बरामद भएको हो।
बरामद भएको औषधीमा स्पासमो १० पीस, भोमिन १२९ पीस, प्रेगआउट किट ८० पीस, कफट्याड-डी २१० पीस, स्पासपेन १८० पीस र ट्रुपेन २२ सय २० पीस रहेको प्रहरी निरिक्षक सुवेदीले जनाए।
‘बरामद भएको औषधीहरु लागुऔषधको परिभाषामा पर्दैन। त्यसकारण औषधीको विषयमा हामीले यहाँबाट मुद्दा चलाउन मिल्दैन। तर ती औषधीहरु घरको खानतलासी गर्दा खाटमुनी अबैध रुपमा रोखेको अवस्थामा भेटिएको छ। सबै औषधीलाई हामी औषध व्यवस्था विभागमा पठाउछौं,’ इन्सपेक्टर सुवेदीले थपे।
प्रहरीको नियन्त्रणमा रहेको यादवको साथबाट लागुऔषध गाँजासमेत बरामद भएकोले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइनेइन्सपेक्टर सुवेदीले बताए।
लागुऔषधसहित प क्राउ परेका यादव यसअघि गत भदौं १९ गते चोरीको चाँदी खरिद गरेको आरोपमा पक्राउ परेका थिए। उनलाई प्रहरीले चोरी कसुरमा मुद्दा चलाएको थियो। प्रहरीका अनुसार केहिदिन अघि मात्रै उनी धरौटीमा छुटेका थिए।
पछिल्लो समय लागुऔषधकै कारण ढल्केवर र त्यस आसपासका क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको स्थानीयहरुको भनाइ छ। सामान्यता औषधी पसलहरुमा खुल्ला रुपमा पाउन सकिने त्यस्ता किसिमका औषधीहरुलाई मिलाएर लागुऔषधको रुपमा प्रयोग गर्ने गरेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउछन्।




