महोत्तरी। आउन लागेको विजया दशमी,दिपावली तथा छठ पर्वको विशेष अवसरमा रात्री कालिन बसहरुका साथै विभिन्न सार्वजनिक यातायातका साधनहरुमा भिडभाड हुने र यात्रु ठगिन वा अन्य विभिन्न समस्यामा पर्न सक्ने भन्दै महोत्तरीको बर्दिवास,गौशाला र जलेश्वरमा विहिवार सहायता कक्ष स्थापना गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले जलेश्वर बसपार्क स्थित सहायता कक्षको उदघाटन गर्दै यसले यात्रीहरुलाई केहि राहत पुग्ने विश्वास व्यक्त गरे ।
चाडवाडका वेला यात्रीहरुको संख्या अत्यधिक हुने,भिडभाडमा सामान छुट्न सक्ने वा भाडा वढी लिन सक्नेका साथै चालक दलले समेत मादक पदार्थ सेवन वा लागु औषध सेवन गरेर सवारी साधन चलाउदा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न उक्त सहायता कक्षले सहयोग गर्ने अपेक्षा उनले गरे ।
हाल एकजना ट्राफिक प्रहरी र एकजना जनपद प्रहरी रह्ने व्यवस्था रहेको उक्त सहायता कक्षले यात्रु तथा सवारी चालक दल समेतको विभिन्न गुनासोहरु सुन्ने र समाधानको लागि प्रयास गर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले वताए । उनले चाडवाडको समय विभिन्न समस्याहरु आउने गरेकोमा उक्त डेस्क स्थापना पछि पिडितलाई अन्यत्र ठाउ गएर गुनासो पोख्न आवश्यक नरहेको र सहायता कक्षबाटै समस्या समाधानको प्रयास गरिने वताए ।
यता जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष लव राजा सिंहले समेत हेल्प डेस्क हुुनु आफैमा राम्रो भएकोमा यसलाइ चाडवाडकै समयमा नभएर दिर्घरुपमा स्थापना गर्नु आवश्यक रहेको बताए । उनले जलेश्वर वस पार्क क्षेत्र लागु औषध दुव्र्यसनीहरुको अखाडा बन्न लागेको समेत संकेत गर्दै हेल्प डेस्कले त्यसलाई समेत निरुत्साहित गर्ने आशा व्यक्त गरे ।
कार्यक्रममा जलेश्वर ट्राफिक कार्यालयका ईन्चार्ज असई दिपेन्द्र पाण्डेय,जलेश्वर नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वरुण दाहाल लगायत विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।