महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वरमा शुक्रबार खाद्य स्वच्छताका आधारमा होटल लोगो स्तरीकरण तथा नवीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वर, महोत्तरीको आयोजनामा जलेश्वरमा होटल व्यवसायी गरी बसेका ५० बढी व्यवसायीहरुलाई होटल सञ्चालनका लागि आवश्यक मापदण्डबारेमा विस्तृत जानकारी गराइएको थियो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जलेश्वरका प्रमुख श्रवण कुमार साहले होटलमा खानाको गुणस्तर, कामदारहरुको सरसफाई, किचेनको अवस्था, त्यहाँ रहेका सर सामानहरुको अवस्था,पकाउने तरिका, लगायतका कुराहरुको बारेमा होटल व्यवसायीहरुलाई विस्तृत जानकारी गराउँदै सेवा प्रदान गराउनु मूल उद्देश्य रहेको बताउनुभयो ।त्यस्तै कार्यक्रमका अध्यक्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख रत्नकान्त झाले यस कार्यक्रमले खाद्य स्वच्छता कायम गराउने, होटल व्यवसायीहरुलाई स्टीकर प्रदान गरी साख वृद्धि गराउने, ग्राहक आकर्षण गराउने र र अन्तिम उद्देश्यको रुपमा उपभोक्ताहरुको हित गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा होटल व्यवसायीहरुलाई कार्यालयले आवश्यक अनुगमन निरीक्षण गरी स्तरीकरण गर्ने, गुणस्तर अनुसार विभिन्न ४ प्रकारका, स्टीकर प्रदान गर्ने, नवीकरण गर्ने र माँग भइआएको खण्डमा आवश्यक अन्य सहयोग प्रदान गर्ने कुराहरु जानकारी गराइएको थियो । यस कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी संघ जलेश्वरका अध्यक्ष बलराम श्रेष्ठले जलेश्वरका सम्पूर्ण होटल व्यवसायीहरुले उपभोक्ताको हितलाई सर्वोच्च ठानेर आ–आफ्नो व्यवसाय गर्दै आएको र यस कार्यक्रमबाट प्राप्त जानकारी र सल्लाह सूझावलाई लागु गर्दै आउने दिनमा अझ बढी सक्रिय र सतर्क भएर सेवा प्रदान गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।