जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ।
प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता-कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गरेका हुन्।
प्रदेश २ का ८ वटै जिल्लाका सदरमुकामहरू जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौर , जलेश्वर, मलंगवा मा मसाल जुलुस प्रदर्शन गरिएको हो।
जुलुस प्रदर्शनको क्रममा प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्वाग्रही भएर छापा मार्न पाइँदैन जस्ता नाराहरु प्रदर्शनकारी लगाएका थिए।
गत बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री कर्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय र वर्दिवासको संयुक्त टोलीले छापा मारी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत खरिद गरिएक साइकल सम्बन्धी कागजातहरु नियन्त्रणमा लिएका थिए ।
साइकल खरिद गरी व्यापक अनियमितता भएको भनि अख्तियरा परेको उजुरीको आधारमा अख्तियारले छापा मारेको हो। अख्तितयारले छापामार शैलीमा अपनाएर संघीयता र प्रदेश सरकारालाई बदनाम गराउने मनसाए छापामारी गरेको आरोप लगाउँदै जसपा प्रदेश २ कमिटीले आन्दोलन घोषणा गरे अनुसार विरोध प्रदर्शन गरेको हो ।
अख्तियारले ‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै आघात पुर्याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको जसपा प्रदेश २ का मुख्य सचिव शम्भू झाले बताए ।
उनका अनुसार शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।