जनकपुरधाम- प्रदेश २ प्रदेशसभाको शुक्रबार बसेको बैठकले दुई वटा विधेयक सर्व सम्मतीले परित गरेको छ । बैठकले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेक २०७८ पारित गरेको हो ।
दुई महिना अघि प्रदेश सभामा पारित प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको दुबै विधेयक थप संशोधनका लागि तत्कालिन प्रदेश प्रमुख राजेश झा अहिराजले सुझावसहित पुनः प्रदेश सभामा पठाउनु भएको थियो ।
सुझावहरुलाई समावेश गरी प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रदेश पदक सम्बन्धी विधेयक र सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सेवा सम्बन्धी विधेयक पारित गर्न आजको वैठकमा प्रस्ताव गरेपछि सभामुख सरोजकुमार यादवले दुवै विधेयक निर्णायार्थ पेश गर्नुहुँदा सर्वसम्म पारित भएको हो ।
वैठकमा स्वास्थ्य विधेयक माथिको छलफलको क्रममा प्रदेश सभा सदस्यहरुले प्रदेश २ को सरकारी अस्पतालको अवस्था दयनीय रहेकाले उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
स्वास्थ्य विधेयकमाथिको छलफलकोक्रममा नेपाली काँग्रेसका शिवचन्द्र चौधरी, जसपाका रामअशिष यादव, लोसपाका रानीशर्मा तिवारी, परमेश्वर साह, एमालेका किशोरी साह लगायतले सुझाव राख्नुभएको थियो । प्रदेशको नाम र राजधानीबारे चाँडो टुङ्गो लगाउनुपर्ने सुझाव पनि उहाँहरुले राख्नुभएको थियो ।