
जनकपुरधाम।हिन्दु धर्माम्बलम्बी नेपालीहरुको महान चाड दसैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकता सहित स्वागत गर्ने पुरा परम्परा विगतको वर्षमा कोरोना महामारीले धरापमा पारेपनि यस वर्ष पुनः दोहोरिएको स्पष्ट देखिएको छ ।
दसैंले छोपिएको यति बेला प्रदेश २ को राजधानी जनकपुरधामको बजार सहित देश भरि कै बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ।
किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिज लगायत इलेक्ट्रोनिक्सका पसलहरु किनमेल गर्नेहरुको भीड अत्याधिक देखिएकोछ ।
वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ । दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरिरहेका छन् ।
उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने अनुमान गरिन्छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने दसैं पर्वमा मानिसहरुले धक फुकाएर खर्च गर्छन्। फलस्वरूप, यसले बजारमा बहार ल्याउँछ र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ।
जनकपुरधामका अर्थशास्त्रका लेक्चरर उजज्वल दाहाल घरयासी खर्चको एकतिहाइ दसैंमा खर्च हुने गरेको बताउँछन् । उनले उद्योगी व्यवासायीहरुले दसैं, तिहार र छठपर्व संगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफरहरु सहित ग्राहकलाई लोभ्याउने भगिरथ प्रयत्न गर्ने गरेको बताए।
‘दसैंको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ’, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ भन्छन्। टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायत (ड्युरेबल्स) का खरिदकर्तालाई दसैंको अफर नै पर्खेर बस्ने बानी लागिसकेको छ। अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल÷रेस्टुरेन्टले दसैं लक्षित प्याकेज बिक्री गर्न थालेका छन्।
दसैंले बजारलाई गुलजार बनाउने भएकाले फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विविधि स्किम ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हँुदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैं केन्द्रित किनमेलको चाप बढ्दो छ।
त्यसैगले दशैं, तिहार र छठ लगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ ।
बाहिर रहेकाहरु दसैं मनाउन आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दसैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ ।
वर्षभरिमा कर्मचारीले यति बेला १३ महिनाको तलब पाउँछन् । थप एक महिनाको तलब दसैं खर्चका लागि दिइने पुरानो चलनका कारण र बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।
‘पहिले पनि दसैंं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ, अर्थशास्त्री डा लाभले भने ।
यसबाहेक निजी क्षेत्रका संघसंस्था, बैंक तथा वित्तीय संस्थाले पनि कर्मचारीलाई दसैंं खर्च बापत बोनस तथा भत्ता दिन्छन् । यसले पनि आर्थिक परिचालनमा मद्दत गरेको छ । पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दसैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार औषतमा दसैंताका करिब रु १०÷१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको संख्यामा नेपालीहरु कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ ।
अर्थविद्हरुका अनुसार दसैं अघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरीको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दसैं छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ ।
खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरीलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ । दसैंंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको वर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीको भनाइ छ । उनका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ ।
यतिखेर प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा दशैंंको निकै चहलपहल बढेको छ । जनकपुरका मुख्य बजारहरु शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँहरुमा किनमेल गर्ने मानिसहरुको बाक्लो उपस्थिति देखिन्छ ।
ठाउँ ठाउँमा दसैं बजार
यता जनकपुरधाममा असोज २१ गते घटस्थापना देखि शुरु भएको दसैं बजार असोज २७ गते महाअष्टमीसम्म संचालन गरिएको छ ।
सस्ता बजारको नाममा चिनिने यस बजारको जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वय तथा सहकार्यमा शुरु भएको दसैं बजारले स्थानीय तथा राष्ट्रिय उत्पादनहरू बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने विश्वास धनुषाका प्रमुख जिल्ला अधिकारी एवं मेला व्यवस्थापन समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाको रहेको छ ।
मेलामा खाद्यान्न सामाग्रीहरू, साबुन, अगरबत्ती, चाउँचाउँ, बिस्कुट, प्लास्टिकका भाडा वर्तन, कपडा, चप्पल जुत्ता, शृङ्गारका सामाग्रीहरू सहितका अन्य दैनिक उपभोग्य सामाग्रीहरू बिक्री कक्षमा राखिएको जनकपुरधाम उद्योग वाणिज्य संघले जनाएको छ ।
कोरोना महामारीका कारणले सुसुप्त बनेको आर्थिक गतिविधि तीव्र बनाएर सहुलियत दरमा सामानहरूको बिक्री वितरण गर्ने काम भइरहेकाले यसले आम तथा निम्न वर्गका उपभोक्तालाई राहत पुग्ने विश्वास गरिएको छ ।
जनकपुरधामको ऐतिहासिक गोपाल धर्मशालामा शुरु भएको दसैं बजार गत वर्ष कोरोना महामारीका कारणले नलागे पनि यस पटक धेरैले खोप लिइसकेको र कोरोना नियन्त्रणको अवस्थामा रहेकाले दसैं बजार आयोजना गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।
सस्तो बजारको रुपमा रहेको दसैं बजारको मूल्यमा नै जनकपुरधामको केही पसलहरूमा मूल्य सूची राखेर उपभोग्यका सामानहरू छठसम्म बिक्री गराउने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए।
दसैं बजारबाट उपभोक्ताका साथै खुद्रा व्यापारीहरूले पनि खरिद गरेर लाने भएकाले यसमा करोडौंको कारोबार हुने गरेको छ । सोझै कम्पनीबाट नै सामानहरू जनकपुरधामको सस्तो बजारमा आउने गरेकाले सामानहरू सस्तो पर्ने गरेको जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर बजरंग प्रसाद साहले जानकारी दिए ।
