सुनसरी- प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
ही घटनाका कारण पीडितका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ ।
लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।
उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए ।
कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
अवस्था सामान्य बन्दै
प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार साँझ देखि सामान्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार मृतकका आफन्त र प्रशासनबीच छलफलपछि अवस्था सामान्य बनेको हो । उनका अनुसार मृतकको शवको पनि पोष्टमार्टम गरिएको छ ।
आन्दोलनरत पक्ष र प्रशासनबीच घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गर्ने सहमति भएको उनले बताए । समितिले दिएको सफारिसका आधारमा थप प्रकृया अघि बढाइने उनले बताए ।
सुनसरी भोक्राहाका मोहम्बद हाकीम साह आइतबार बिहान प्रहरी हिरासतभित्र मृत फेला परेका थिए। प्रहरीले लापरवाही गर्दा मृत्यु भएको भन्दै प्रदर्शन भएपछि झडप भएको थियो । झडप हुँदा १४ जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएका थिए ।
सुनसरी इनरुवा–९ की युवतीसँग अन्तरजातीय र अन्तर धार्मिक विवाह गरेका हाकीम युवतीका आफन्तको उजुरीपछि पक्राउ परेका थिए ।