जनकपुरधाम- जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा १४ हजार २ सय ९१ बोका बलि प्रदान गरिएको छ।
राजदेवी मन्दिरमा महाष्टमी तिथिको राति ८ बजेर ५ मिनेट बाट सुरु भएको बोका बली करिब ७ घण्टा सम्म चल्दै विहान ३ बजेर ३८ मिनेटमा सम्पन्न भएको थियो ।
गत वर्ष राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८ बोका बलि प्रदान गरिएको थियो । कोरोना महामारीको कारण गत वर्ष बोकाबलि प्रदान गर्नेको संख्या कम भएकोमा यस वर्ष करिब करिब दोब्बर बलि प्रदान गरिएको छ ।
जनकपुरधामको राजदेवी मन्दिरमा बोला बलि दिन वरपरका क्षेत्र, सीमावर्ती जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट समेत श्रद्धालुभक्तजनहरु समेत आउने गर्दछन् । मनोवांक्षित फल प्राप्त हुने जनविश्वास भएको अनुसार श्रद्धालुभक्तजनहरुले भाकल गरे अनुसार बोका बलि प्रदान गर्ने चलन रहेको छ ।
राजदेवी मन्दिरमा बोका बलि लगायत दसैंको कार्यक्रमको व्यवस्थापन महाबिर युवा कमिटिले गर्दै आएको छ ।
बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु बुधबार दिउँसैदेखि लाइनमा लागेका थिए ।
बोकाबली प्रदान गर्नका लागि यसपालि ४ वटा अस्थायी ठेहा (बलि प्रदान गर्ने स्थल) राखिएको थियो । प्रत्येक ठेहामा १० जनाको समूहमा बलि प्रदान गर्ने स्वयंसेवक जनशक्तिहरु परिचालन गरिएको थियो। प्रत्येक ठेहामा प्रतिमिनेट ४० को संख्यामा बलिप्रदान गरिएको थियो ।
बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन आयोजक महावीर युवा कमिटीले ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरेको थियो ।
प्रति बोका बलिको लागि २ सय रुपैयाँको दर अग्रीम टिकट काट्नु पर्ने र संकलित रकम परिचालन व्यवस्थापन स्थानीय क्लवले गर्ने गरेको छ । बोका बलिबाट मात्र २८ लाख ४८ हजार २ सय रुपैयाँ संकलन भएको छ ।