जनकपुरधाम- विजया दशमीको दिन आज जनकपुरधाममा रावणबध कार्यक्रमको आयोजना गरिएको छ ।
जनकपुरधाम स्थित गंगासागर र धनुषसागर पोखरी बीचको डिलमा निर्माण गरिएको रावणको पुत्ला दहन गरिएको हो । पोखरीको डिलमा निर्माण गरिएको ५२ फिटे रावण, मेघनाथ र कुम्भकणर्को प्रतिकात्मक मुर्तिलाई राम मन्दिरका पुजारी राम गिरीले आगजनी गर्दै वध गरेका हुन् ।
स्थानीय महावीर युवा कमिटीले विगत एक दशक देखि विजयादशमीका दिन गर्दै आएको रावणबद्ध यस वर्ष राम मन्दिरका मुख्य पुजारी राम गिरीले गरे ।
भगवान श्री रामको १४ वर्षे वनवासको क्रममा रावणसँग भएको युद्धमा रामले रावणको बध गरेकोमा असत्यमाथि सत्यको विजय प्राप्त भएको खुशियालीमा भारत सहित नेपालको पनि विभिन्न ठाउँ विजय दशमीको दिन रावण बध गर्ने कार्यक्रमको आयोजना गरिने गरीन्छ ।
रावण बध कार्यक्रम हेर्न सयौंको संख्यामा सर्वसाधारणहरुको भीड लागेको थियो । रावणबद्ध पश्चात जनकपुरधाम स्थित राजदेवी मन्दिरमा महाप्रसाद समेत वितरण गरिएको छ ।