महोत्तरी- महोत्तरीको महोत्तरी गाउँपालिका- ३ मडैका ४२ वर्षीय संजय कुमार झाले बाेक्सीको आरोपमा आफ्नै भाउजुको हत्या गरेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले आज आइतवार पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा पक्राउ परेका झालाई सार्वजनिक गरेका हुन् ।



संजयले भाउजू ४२ वर्षीया शिलादेवी झालाई असोज २७ गते राती टाउँकोमा हथाैडा प्रहार गरी हत्या गरि फरार भएको अवस्थामा शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्या गरिएको अवस्थामा शिलादेवीको शव असोज २८ गते घरमै फेला परेको थियो ।
०७८ असारमा संजय र रिंकुवीच विवाह भएपछि शिलादेवीसंगै संगोलमा बस्थे उनीहरु । सो क्रममा एकदिन शिलादेवीले दिएको केरा रिंकुले खाइन् । सोही राति रिंकुको गर्भ तुहियो र बिरामी भइन् ।
घरमा निको हुने अबस्था नदेखेपछि संजयले श्रीमती रिंकुलाई उपचार गराउन जनकपुर लगे । तर अस्पतालमा उपचार गराउदा पनि उनी निको भइनन् । त्यसपछि धामी झाक्रीको सहारा लिए ।
धामी झाक्री लगाउदा रिंकुले काम्दै भनिन्, ‘म कृष्णा हुँ । आमा शिलादेवीले म र मेरो बुवा लालकिशोरलाई मारेकी छन् । अब संजयको श्रीमती रिंकुलाई मार्छु ।’रिंकुले झाक्री अगाडी यसरी बोलेपछि शिलादेवी बोक्सी रहेको निश्कर्षमा पुगे उनका श्रीमान् संजय ।
शिलादेवीले केरा खुवाएको कारण श्रीमतीको गर्भ तुहिएको र विरामी परेको भन्दै संजय आक्रोशित बने । र आफ्नो परिवार सुरक्षित बनाउन शिलादेवीलाई मार्ने योजना बनाए ।
प्रहरीका अनुसार संजयले शिलादेवीलाई १२ लाख ३९ हजार रूपैया सापटी समेत दिएका थिए । आफ्नो श्रीमतीलाई नै मार्न खोजेको अन्धविश्वासमा परेपछि रुपैया फिर्ता मागे । तर रूपैया पनि फिर्ता गर्न आलटाल गरेपछि आक्रोस थाम्न सकेनन् ।
भाउजु शिलादेवीको हत्या गर्ने योजनाका साथ संजय असोज २७ गते जनकपुरबाट मडै पुगेर घरमा बसे । सोही राति भाउजू सुतिरहेको ओछ्यान मै गएर तीन हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागेकाे प्रहरीले जनाएको छ । पक्राउ परेपछि संजयले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
यसरी भाउजु शिला देवी झालाई मारे पछी मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धबिश्वाशको कारण संजयले हत्या गरेकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।
प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
यो पनि पढ्नुहोस् ।




