
ढल्केवर। धनुषाको बटेश्वर गाउँपालिका –५, बटेश्वर करिब ६० करोड रुपैयाँको लागतमा निर्माण हुने अत्याधुनिक राइस मिलको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका ढल्केवरका युवा उद्यमी मनोजकुमार साह, नितिस साह र निखिल साहले बुधबार संयुक्तरुपमा मिलको शिलान्यास गर्नुभएको हो ।
दस बिघा जमिनमा ६० करोड रुपैयाँका लागतमा अत्याधुनिक जय नरसिङ् एग्रो प्रोसेसिङ् प्राइभेट लिमिटेड राइस मिल निर्माण हुने युवा उद्यमी मनोजकुमार साहले बताउनुभयो । उहाँले यहाँ स्थापना गर्न लागेको राइसमिलबाट दैनिक दुई सय टन चामल उत्पादन गर्नसक्ने क्षमताको हुने जानकारी दिनुभयो ।
आउँदो असार महिनासम्म राइस मिल सञ्चालनमा आइसक्नेछ । मिलमा कुटान र पेलानीको कामलगायत धान खरिद गर्ने सञ्चालक साहले भन्नुभयो । शिलान्यास कार्यक्रममा जनकपुरधाम उद्योग बाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनीष रमण साहसहितको उपस्थिति थियो ।