महोत्तरी- अदालतको आदेशमा चार वर्षपछि कात्तिक ७ गते मनरासिस्वा नगरपालिका–१० को वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतपरिणाम उल्टिएको छ ।
उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार अहिले निर्वाचित भएका छन्।
यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर, कात्तिक ७ गते भएको पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् ।
चार वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुवै उम्मेदवारले २ सय ६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।
पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए ।
उच्च अदालतले ०७५ असार २१ गते पुनः मतगणना गर्न आदेश दिएपनि चौधरीले यो निर्णय विरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिए ।
सर्वाेच्च अदालतले ०७७ चैत ६ गते उच्च अदालतको आदेशलाई सदर गरेको थियो । सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको देखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।
उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारी र आफ्नो उपस्थितिमा भएको पुनः गणनामा नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र स्वतन्त्र उम्मेदवार रायले २ सय ६८ मत पाएको देखिएको भुजेलले बताए ।
अब पुनः गणनाको परिणाम न्यायाधीशसमक्ष पेश हुने र त्यसपछि पद परिवर्तनको आदेश त्यहींबाट आउने भुजेलले जानकारी दिए।
यता रायका समर्थकले २ मत बढी देखिए संगै रायलाई माला लगाइ बधाइ दिएका छन् । तत्कालिन अवस्थामा वडा नं १० मा रहेका ९ उम्मेदवारहरुले यस प्रकार मत प्राप्त गरेका थिए । तालिका हेर्नुहोस् ।