धनुषा- दसैँपर्व कसैगरी टारेका कुमाल समुदाय (माटाका भाडा बनाउने जाति समुदाय) अब तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन्।
नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआगनमा प्रवेश गर्न केही दिनमात्र बाँकी रहँदा माटाका भाँडा बनाउने कुमालजातीहरुलाई यतीवेला भ्याइ नभ्याइ छ । अघि पछिको समयमा फुर्सदिला बनेका कुमालजाती दिपावली, तिहार जस्ता चार्ड पर्वहरु आए पछि व्यस्त हुने गरेका छन् ।
चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाडाको माग बढ्ने भएकाले दसैँ सके लगत्तै कुमाल माटाका भाडा बनाउन दिनरात नभनी जुटेका छन्। चाडपर्वका वेला बढी खपत हुने माटोको भाँडा माग अनुसारको पुरा गर्न यतीवेला कुमालेहरुलाई भ्याइनभ्याइको देखिएको छ ।
दीपावली (तिहार) र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाडा), तौला (माटोको डेक्ची) र ढकना (बिर्को) सहित नयाँ माटाका भाडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषा सहित तराईका जिल्लाहरुका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ। यसै बेलालाई आफ्नो कमाइको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन्। ‘दसैँमा त हाम्रो सीपको खासै माग हुँदैन, खोजमेल गरेर नै दसैँ टारियो’, वटेश्वर गाउँपालिका–२ भुचक्रपुर कुमाले टोलका सीताराम पण्डित कुमालले भन्नुभयो, ‘दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ।
दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हुने सीतारामको थप भनाइ छ। अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिँदोछ।
कुमालजातीले परम्परादेखी माटोको भाँडा बनाउदै आएपनि अहिलेका युवा पुस्ताले परम्परागत पेशालाई नअपनाएपछि बजारको माग अनुसार धान्न गा¥हो भएको उनिहरु बताउन्छन् ।
दीपावली र छठपर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठपर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउन पर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाडाको कारोवार बढ्ने गरेको छ। यसै परम्पराको अवसरमा दीपावली र छठअघि माटाका भाडाको बजार जम्ने गरेका कुमालहरु बताउँछन्।
माटोको दियो तथा अन्य माटोको भाँडा वनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ४ हरैयामा बसोबास गर्ने कुमालेहरु यतीवेला व्यस्त भएको देखिन्छ । उनिहरुले बनाएका माटाका भाँडाहरु सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधाम देखी महोत्तरीको वर्दिवास सम्म बिक्री वितरण हुने गरेको छ ।
दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँनगर बस्तीका हटियामा माटाका भाडाका छुट्टै बजार लाग्ने गरेको छ। साप्ताहिक हाट बजार (सातामा दुई दिन सम्म लाग्ने बजार) बाहेक नगरगाउँ बस्तीका चोकचोकमै कुमालेले माटाका भाडाको बजार लगाउन शुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश यादव बताउनुहुन्छ। उहाँले मिथिला क्षेत्रमा माटाका नयाँ भाडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको बताउनुभयो ।
विष्णु पण्डित कुमालेको अनुसार आफूले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष जति भयो । हजुरबुवाहरुबाट आफुले यो सिप सिकेर माटाका भाँडा बनाउदै बिक्रि बिवतरण गरीरहेको उहाँले बताउनुभयो। उहाँले एक दिनमा ५ सय जति माटोको दिया बनाउने गरेको बताउनुभयो। चिने जानेकोले घरमा आएर खरीद गर्ने गरेको उहाँले बताउनुभयो। बढी जसो होलसेल पसलमा माटाका भाँडा बिक्री गर्ने गरेका पण्डितले बताउनुभयो । अहिले आफु सगँ भए जतिको माटाका दियाँहरु सबै बिक्री बिवतरण गरीसकेको उनले बताए। उनले भाडा बिक्रीबाट आर्जित आम्दानीबाटै तिहार, छठ मनाइने, दसैँ मनाइएको सरसापट तिर्ने र वर्षभरिका अन्य नगद खर्चको जोहो गरिने अहिले आपूmहरुको उपयुक्त अवसर भएको बताउछन्।
यसपालि दसैँ सकिए लगत्तै जमेको माटाका भाडाको बजार छठसम्म रहने भएकाले र मूल्य वृद्धि समेत भएकाले यो छठ पर्व सम्म करिब करिब १५ लाखभन्दा बढीको कारोवार हुने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउनुहुन्छ।
कुमालेहरुको मुख्य पेशा माटाका भाडा बनाउने रहेपनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेशालाई अवमुल्यन गरेका कारण चाडपर्वको वेला बढेको माग पुरा गर्न हम्मे हम्मे परेको क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाबजार का ५५ वर्षिय लक्ष्मण पण्डित कुमालेले बताउनुभयो। सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवर्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उहाँको आशय छ।
झिलीमिली बत्ती बालेर धुमधामका साथ मनाईने तिहारमा अन्य समयको भन्दा वढी माटाका दियो धुपोउरो लगायतका समाग्रीहरुको माग हुने गरेको कारण यो समयमा कुमालेहरु माटाका समाग्रीहरु वनाउन व्यस्त बनेका छन् ।
सखुवाबजार नयाँटोल बस्ने ६० वर्षीय जयनारायण पण्डितले माटोको भाँडाकुँडा बनाउदा अरु बेलामा भने जस्तो आम्दानी नहुने हुँदा जिविकोपार्जन मै समस्या हुने गरेको बताउनुभयो। पुर्खाले अगाल्दै आएको पेसालाई आफुहरुले छोड्न नसकिएको उहाँको भनाई छ । भने जस्तो आम्दानी नभए पनि सामान्य रुपमा घर खर्च चलिरहेको छ ।
केही वर्ष आगाडि सम्म माटाका भाडाँ वनाउने पेशा अँगाल्दै आएका कुमालेहरु वढ्दो आलमोनियम र प्लाष्टीकका भाडाँहरुसंग माटाको भाडाँले प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । प्लाष्टिकका सामानहरु सस्तोमा पाउने तथा आफुहरुले प्रयोग गर्ने माटो, दाउरा र रंगरोगनका सामाग्रीको मुल्य बढेका कारण पेशालाई निरन्तरता दिन कठिनाइ भएको वटेश्वर गाउँपालिका ५ शान्तिपुरका दशरथ प्रसाद पण्डितले बताउनुभयो । आफुहरुले ३६ किसिमका माटाका भाँडाहरु बनाउने गरेको उहाँको भनाई छ ।
अहिले माटो लगायत बनाइएको सामग्रीहरु आगोमा पकाउनको लागि आवश्यक सबै सामग्रीहरु खरीद गर्नु पर्ने हुँदा लागत अनुसारको आम्दानी नहुने भएकोले युवा पुस्ताले परम्परागत पेशाप्रति उदासिनता देखाएको दशरथ पण्डितको भनाईछ ।
अहिलेसम्म पुख्र्याैली पेशालाई आफुहरुले जसोतसो धानेपनि नयाँ पुस्ताले देखाएको उदासिनताका कारण भविष्यमा माटोको भाँडाको विकल्पमा अन्य भाँडाले ठाउँ लिनेमा चिन्तीत कुमाले जाती देखिन्छन् ।
त्यसैगरी यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दिपावली गर्नका लागि माटोको पालामा दिप राखेर प्रज्वलित गर्ने चलन रहेको पनि पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपक भन्दा पनि विजुलीबाट जल्ले झिलिमिली बत्तिको प्रचलन बढ्दो छ।
‘अलि पहिला पाला नै धेरै प्रयोग गरिन्थ्यो,’ आफ्नो बुबासँगै विगत लामो समयदेखि पाला बनाउन सिकेका महेन्द्रनगरका ४५ वर्षीय रामदेव पण्डितले भन्नुभयोे, ‘अहिले चीनले प्लाष्टिकका र बत्तिबाट जल्ने दियोको आकृतिका सामाग्री बनाइदिएपछि पाला बिक्री हुन अलि समस्या पर्न गएको छ।’
केही वर्ष पहिलासम्म तिहारमा मात्र १ लाख पाला बेच्ने गरेको अनुभव रामदेवले सुनाउनुभयो। विगत दुई वर्ष देखि त कोरोनाका कारण पनि आफ्नो व्यवसायमा धक्का दिएको उहाँको भनाइ छ।