
धनुषा- प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले जनगणनामा सही तथ्यांक लेखाउन प्रदेशवासीसँग अनुरोध गरेका छन् ।
मुख्यमन्त्री राउतले एक विज्ञप्ति जारी गर्दै जनगणना लिन आउने सुपरीवेक्षक वा गणकहरुलाई सही विवरण टिपाउन अनुरोध गरेका हुन्। उनले तथ्यांक संकलन गर्न घरमा आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि भनेका छन् ।
मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपालमा अहिले १२ औं राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । जनगणना तथ्यांक संकलनको पहिलो चरण अन्तर्गत असोज १८ गतेसम्म तपाई हाम्रो घरदैलोमा आई घर तथा घरपरिवार सूचिकरण कार्य सम्पन्न गरेको हामी सबैलाई जानकारी नै छ । यसैगरी कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु पारिवारिक र व्यक्तिगत विवरण लिन घरघरमा आउँदै हुनुहुन्छ । जनगणनामा गणकले सोधेका प्रश्नको सही उत्तर दिउँ । तपाईले टिपाएका तथ्यांक गोप्य रहन्छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भंग गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुन्छ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।’
मुख्यमन्त्री राउतले राज्यको पुनर्संरचनापछि अर्थात देशले संघीय शासन प्रणाली अंगाले पछिको यो पहिलो जनगणना भएकोले यस पटकको जनगणनाको खास महत्वको रहेको बताएका छन् ।

