महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरदसिंह भण्डारीले ज्यान रहुन्जेलसम्म जनपक्षमा वकालत गरिरहने बताएका छन् ।
शनिवार महोत्तरीको औरही नगरपालिका ६ स्थित वैरियामा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता भण्डारीले आफु चार दशकको राजनितीक यात्रामा जनमुखि न्यायको लागि अभियान संचालन गरेकोले सो अभियान अझ जारी नै रहेको बताए ।
नेता भण्डारीले बर्षौदेखिको यो लडाईमा युवा शक्तिको आवश्यक्ता रहेकोले साथ दिनका लागि सवैमा आग्रह गरे ।
भण्डारीले भने, ‘हामी मधेशमा हुर्केका हौ । मधेशीको हकअधिकार दिलाउनका लागि हामी अगाडि बढि रहेका छांै । आमजनतालाई जवसम्म नेपाली नागरिक सरह अधिकार दिलाउँदैनौ तबसम्म हामी चुप लागेर बस्ने छैनौ ।’
चाँडै नै संसद विघटन गरि चुनाव घोषणा गरेर देशलाई निकास दिलाउनका निम्ति नेता भण्डारीले आग्रह गरे । उनले भने, ‘दुईपटक देशमा संसद विघटन भयो । पुनः जिवीत भयो । तर दुखद एकपटक पनि संसदको वैठक वस्न पाएन । त्यसले गर्दा संसद विघटन नै आवश्यक रहेको छ ।’
त्यसैगरी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३ सयको हाराहारीमा लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरु प्रवेश गरेका छन् । उनीहरुलाई नेता भण्डारीले दोसल्ला ओढाई पार्टीमा प्रवेश गराएका थिए ।








