नैतिकता मानवीय मूल्यहरूको त्यस्तो व्यवस्था हो जसले हाम्रो व्यवहार सुधार गर्छ। सबैलाई इमानदार र नैतिकवान बनाउँछ। नीति र नियमको पालना गर्छ। नैतिकता एउटा सकारात्मक कदमको मूल्य हो। जसले कुनै पनि आचरण र व्यवहारलाई उचित वा अनुचित छुट्याउने गर्दछ। यो नैतिकता भन्ने शब्दले ज्यादै ठूलो महत्व राखेको हुन्छ । समाजको शान्ति सुरक्षा र देशको विकासमा नैतिकताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदो रहेछ । केही समय अघि मैले एक अमेरिकी विद्ववान एल एन हवडले लेखेको एउटा किताब पढेको थिएँ जुन किताब थियो (personal values and integrity course )। त्यो किताबमा केही ज्यादै महत्वपूर्ण कुराहरू नैतिकताको बारेमा लेखेको रहेछ। त्यहाँ के भनेको छ भने नैतिकता व्यक्ति आफैंले आफु माथि लागु गर्ने विषय हो। नैतिकवान व्यक्ति त्यो हो जसले कानुन, संविधान, मौलिक परम्परा सामाजिक संस्कार र संस्कृति, सामाजिक मूल्य र मान्यताको खिलाफमा नगै अनुसासीत र बफादार भएर त्यस्ता खराब काममा जान आफूलाई रोक्नेछ। आफुले समाजका लागि सधैं मार्गदर्शक बन्नेछ ।
नैतिकता आफैंले आफुलाई लगाउने कुरा हो । यसरी आफुले आफुलाई नैतिकता लगाउने व्यक्तिलाई भन्ने गरिन्छ उसले त इथिकस इन गर्यो । नैतिकता भन्नाले अर्को शब्दमा यो भनिएको छ जसले आफु र समाज तथा देशको लागि कुभलो हुने काम गर्दैन त्यो नै नैतिक जिम्मेवारी व्यक्ति हो । म एउटा सानो उदाहरण दिन्छु । हामी कसैले चुरे भावर भित्र वा चारकोसे झाडीको जंगल फडानी गर्यौ भने पक्राउ पर्न सक्छौँ वा जंगल मासेको कारण त्यहाँ पहिरो जान्छ र आफ्नै जमिन पहिरोले पुरिन्छ भने यसको दुष्प्रभावले अरू समाजमा वातावरण खलबलयाउँछ । लामो समय सम्म खडेरी पर्न सक्छ । त्यसैले चुरे भावर वा चारकोसे झाडीको जङ्गलमा रूख फडानी गर्नु अनैतिक कार्य हो। किनभने यो कार्यले जंगल मासने व्यक्तिहरू स्वयं र अरू निर्दोष समाजलाई पनि नराम्रो असर पारेको हुन्छ। जब नैतिकता गुमाएर अनैतिक कार्य हुन्छ त्यस पश्चात् न्यायको प्रत्याभूति अगाडि आउँछ। न्याय जहिले पनि नैतिकता उल्लंघन भए पछि मात्र आउँछ। न्याय जहाँ पनि अनैतिक कार्य भए पछि आउने चरण हो रहेछ । यही नैतिकता भन्ने शब्दलाई वेवास्ता गरेर सरकारले पटक पटक देश र जनताको हक हितलाई कुण्ठित गर्न अनेकौं कामहरू गरी रहेको हुन्छ।
आज मेरो भनाइ यो रहेको छ कि सरकारले देशमा शान्ति कायम राखी जनतालाई अमन चयन राख्ने गर्दछ। त्यसको लागि चाहिने भन्दा बढी नचाहिने काम गरिरहेको छ , गठबन्धन बाट सरकारमा सहभागी भएर आफ्नो भागबणडबाट भाग पुरा गर्न र गराउन सरकारले गरेको मन्त्री पदपूर्तिका कारण आज न्याय पालिकमा जुन हर्कत देखियो त्यो एकदमै अनैतिक कार्य हो। यसले देशलाई नैतिक राख्नु भन्दा पनि न्याय वा कारवाही गर्न अगाडि राख्दछ । तर एक छिन गहिरो अध्ययन गरेर अनुमान गरौं त यदी देशमा भागबणडबाट सरकारमा बसेर अनैतिक व्यक्तिहरू बढ्दै गए भने सरकारले कारबाही गरेर यस्ता व्यक्तिलाई रोक्न सक्छ त ? सबै मन्त्रालयका मन्त्री र कर्मचारी अनैतिक कार्यमा लिप्त भएका छन भने कसरी रोक्न सकिन्छ त ? त्यसैले सरकारले शान्ति प्रक्रिया र संविधानको मर्मलाई बुझेर सुरक्षा योजना गर्दा सबैभन्दा बढी ध्यान कसरी बढी भन्दा बढी सरकारी कार्यालय भित्रको मन्त्री तथा कर्मचारीहरूलाई नैतिक बनाउने ? कसरी आफ्ना मन्त्रीहरूलाई बढी भन्दा बढी नैतिक जिम्मेवारी बनाउने ? भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने थियो। यो कुराले नै देशमा शान्ति सुरक्षा सुदृढ बनाउन र अमन चयन राख्न ज्यादै ठूलो महत्व राख्छ। सरकारका जिम्मेवार मन्त्रीहरूले किन आफूलाई अनैतिक काम गरिरहेका छन ? यसको जवाफ सबै नेपाली जनताले खोज्न जरुरी छ। यदी सरकारमा एक जना पनि नैतिकता भएको मन्त्री भएको भए देशको लागि केही त नैतिकता दिन्थ्यो होला नि। व्यक्ति भनेको सरकारमा रहेका मन्त्रीहरू तथा कर्मचारीहरू हुन । यदी सरकारमा सहभागी भएका प्रधानमन्त्री, मन्त्री सभामुख राष्ट्रपति प्रधान न्यायाधीश सबैले आफुलाई नीति र व्यवहारमा नियन्त्रण गर्न सकेको भए अहिले देशमा यस्तो अवस्था आउने थिएन। अहिले यीनीहरूले नैतिकता जस्तो महत्वपूर्ण विषयमा ध्यान नदिएर जनताको चाहना अनुसार सफल हुन नसकेका हुन ।
यस्तो विवेक हीन काम गर्दा चाहिँ हरेक व्यक्तिले दु:ख भोग्नुपर्ने हुन्छ । यसले सबै क्षेत्रमा असर पारिरहेको हुन्छ। अहिले नेपालमा हरेक तह र तप्कामा नैतिक शिक्षाको खाँचो भएको छ। आफुलाई एक विशिष्ट पदमा पदवहाल गरेर सबैलाई सुधार ल्याउनु पर्ने ठाउँमा आफुले नै त्यो पदको महत्व न बुझी दासत्व जस्तो स्विकार गर्ने हो भने त्यसको जिम्मेवारी कसरी निभाउन सकिन्छ भन्ने हेक्का राख्नुपर्छ । नेपालका संवैधानिक अंगहरू, सुरक्षा प्रमुख, न्याय प्रमूख लगायतका विभिन्न क्षेत्रमा रहनु भएका प्रमुखहरूले यसरी दासत्वको रुपमा सम्झौता गर्नु भनेको अनैतिक कार्य नै हो ।
न्याय पालिका जस्तो पवित्र ठाउँमा राजनीतिको हावा प्रवेश गराउनु भनेको एकदमै निर्लज्जा भएर बस्नु हो जस्तो मलाइ लाग्छ। प्रधानन्यायाधीशलाई अचानो बनाएर जति हतियार सलबलाए पनि त्यहाँ केही हतियारको धार मेटाउनलाई तेजाब छर्छन नै। अहिलेको यस्तो लाजमर्दो अवस्था सरकारको कारण भएको हुँदा प्रधानन्यायाधीशलाई मात्र होइन प्रधानमन्त्री समेतलाई राजीनामा दिनुपर्ने हुन्छ। यदी त्यहाँ राजनीति तरङ्ग थिएन भने आज सम्म सरकारले न्यायलयमा देखिएको जुन अवस्था छ त्यसलाई निवारण गर्ने कदम चाल्नु पर्थ्यो। तर प्रहरीहरूलाई प्रयोग गरेर सरकार मुख दर्शक भएको देखिन्छ।
म यस लेख मार्फत आम नेपाली जनता मेरा आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनी र छोराछोरीलाई के निवेदन गर्दछु भने – सरकारलाई भन्दा बढी नैतिकता हामी आफूले आफुलाई लागु गराउन सिकौं । सबैले यसलाई अभियानकै रूपमा शुरू गरौं । नैतिकता डर, त्रास परिपत्र, नीति नियम ऐन संशोधन गरेर आउदैन । आउँछ त केवल आत्मसगत व्यवहारबाट । नैतिकता, सामाजिक मूल्य मान्यता र न्याय बिचको फरक राम्रोसंग बुझ्नुपर्छ । यस्ता गहन कुरामा अध्ययन नगरी हावामा अरूको आड र आशीर्वादले पदवहाली गर्नेहरूलाई अब फेरि टेका लगाएर अटकाउने काम नगर्नुहोस् । नैतिकता नबुझेको मानिसको अस्तित्व नै समाप्त पार्न सक्नुहोस् । एउटा खराब सोचका कारण अनैतिक कार्य गरेर सत्ताशीन हुन खोज्नेलाई तपाई हामीले नैतिकता सिकाऔं । एउटा अनैतिक कार्य गरेको अपराधीलाई सुधार्नुपर्छ भनेर नेपाली जनताले देखाएको नैतिकताको खिलाफमा उभिएर देशमा संकट निम्त्याउने यस्तालाई कदापि मौका नदिऔं । अनैतिक कार्य गर्नेहरूको जाँच लिएर मुलयांकन गर्ने जिम्मेवारी तपाई हामी नैतिकता बुझ्न सक्ने आम नेपाली जनताको हातमा छ । यिनीहरूलाई नैतिकताको कुरा बुझाउनुपर्ने समय जनताको अगाडि आउन थालेको छ। अब सबैले आफ्नो आफ्नो ठाउँबाट सबै लाई अनैतिक कार्य गर्ने मौका नदिऔं। समयलाई चिनेर नैतिकताका कुरा बुझाउन सकौं ।




