महोत्तरी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र आफू बलियो भएको बताएका छन्। महोत्तरीको रामगोपालपुर नगरपालिकाको सभालाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री नबने पनि आफूले प्रधानमन्त्री बनाएको बताए।
उनले पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूह मधेश र राष्ट्रविरोधी भएको अरोप लगाए। देशभित्र र बाहिरबाट ठूलो सेटिङ भएको बताउँदै उनले सडक आन्दोलनबाट बादशाह ठानेको ओलीलाई आफूहरूले बालकोट पुर्याएको बताए।



‘‘सेटिङ ठूलै थियो, देश भित्र र बाहिरको सेटिङ भएको थियो तर सडकमा आन्दोलनको लहर चलेपछि प्रतिगामी झुक्यो,” उनले भने,‘‘बादशाह ठानेको केपी ओलीलाई बालकोट पुर्याइयो।”
मधेशी जनताको पहिचान तथा सबै जाती र वर्गको अधिकारका लागि लडिरहेकाले मधेशमा माओवादी नम्बर एक पार्टी बन्ने दाबी उनले गरे। मधेश केन्द्रीत पार्टी भनेर राजेन्द्र महत्तो र महन्थ ठाकुरहरूलाई रंगपोत गरी माओवादीलाई विरोधी बनाउने प्रयास गर्दै मधेशी जनताको पहिचान र अधिकारमाथि कुठाराघात भएको उनले बताएका थिए।
आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा केपी ओलीले नै रोकेको उनले दाबी गरे । उनले संविधान संशोधन नभएसम्म लडिरहने बताए। जनयुद्धदेखि जनआन्दोलनमासमेत माओवादी केन्द्रले मधेशका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको बताउदै उनले भने, `माओवादी मधेशको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौ खर्चेर मधेशमा परिचालन गरेको थियो ।´
माओवादी मधेसी जन्ताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको तर त्यसबाटमात्र आफूले भ्रम चिर्न नसकेको उनको भनाइ छ ।
मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको उल्लेख गर्दै उनले केपी ओली नै मधेशको भिलेन भएको तर्क गरे । ओलीले चुरेको दोहन गरी बालुवा निकाल्ने नाममा मधेशलाई मरुभूमि बनाउन खोजेकोमा आफूहरूले चुरे दोहन रोकेको उनको भनाइ थियो।
प्रदेश-२ का कुना काप्चामा गएर मधेसीहरुको भावना नजिकबाट बुझेको बताउँदै अध्यक्ष प्रचण्डले भने, `मधेशको पहिचान, मुद्दा र समस्याहरुलाई माओवादीलेमात्र सम्बोधन गर्न सक्छ ।´
अध्यक्ष प्रचण्डले सिँचाइ, यातायात, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्नेतर्फ पनि प्रतिबद्धता जनाए ।
रामगोपालपुरबाट भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि लालपूर्जा वितरण गर्ने कार्यको शुभारम्भ भएको बताउँदै आगामी दिनमा अन्य ठाउँमा पनि भूमि सम्बन्धी समस्यालाई समाधान गर्ने उनको आश्वासन थियो ।




