महोतरी - गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालयमा प्रत्यक्ष रुपमा राजनितीक पेशा अंगालेको व्यक्तिलाई मनोनित गरि अस्थायी विद्यालय व्यवस्थापन समिती गठन गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई महोत्तरी जलेश्वरले कातिक ३० गते स्वीकृत गरि पठाएको पत्रअनुसार चयन गरिएको अधिकांश सदस्यहरु सक्रिय रुपमा राजनितीक पेशा अंगालेका व्यक्ति हुन ।
वडा नं. ५ को अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय समिती चयन भएको विद्यालय स्रोतले जनाएको छ । सदस्यहरुमा प्रदेश नं. २ को आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहको स्वकिय सचिव श्रीकिशोर साह, गौशाला नगर कार्यपालिका सदस्य दिनेश कुमार साह कलवार, वडा नं. २ का वडासदस्य कुमरकान्त झा, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साह, नेकपा एमालेका नेता रामऔतार महासेठ, नेपाली काँग्रेसका लक्ष्मी शर्मा रहेका छन । त्यस्तै समितीका अन्य सदस्यहरुमा रामसोगारथ यादव र नजया खातुनको नाम रहेको छ । विद्यालयको प्रधानाध्यापक अमोद कुमार साह सदस्य सचिव रहेको सो समितीको शिक्षक प्रतिनिधीमा कपिलराज वरालको नाम राखिएको छ ।
युवाहरुले जनाए विरोध
प्रत्यक्ष रुपमा राजनितीक क्षेत्र अंगालेका व्यक्तित्वलाई समितीमा राखिएको भन्दै स्थानिय युवाहरुले विरोध जनाएका छन् । राजनितीक रुपमा गठन गरिएको समिती आफुहरुलाई मान्य नहुने स्थानिय युवा रामवाबु यादवले बताए ।
यसभन्दा अघिको व्यवस्थापन समितिको सदस्य रहेका श्री किशोर साहसँग अभिभावक भेलाकावीचमा वारम्बार हिसाव किताव माग गर्दा समेत वास्ता नगरेको यादवले बताए । पछि पुनः चलखेल गर्दै उनको नाम चयन गर्नु विद्यालयको लागि दुर्भाग्य सावित हुने यादवले आरोप लगाएका छन् । यता नवगठित समितीलाई अभिभावक भेलाले अनुमोदन गरि पूर्णता दिनुपर्नेमा देव महतोले जोड दिएका छन् । उनले पारदर्शी रुपमा अभिभावक भेलाले समिति बनाउनुपर्नेमा त्यस्तो नगरिकन मनपर्ने व्यक्तिलाई समितिमा राखि अभिभावक भेलाले मान्य दिदा अगामी दिनमा विद्यालयमा सकारात्मक सुधार आउन सक्ने महतोको ठम्याई रहेको छ ।
एक हप्ताको अवधिमा विद्यालयले अभिभावक भेला नडाके आफुहरु आन्दोलनमा उत्रिने प्रमोद महतोले बताए । महतोले विद्यालयलाई समितीमा अभिभावकलाई नराखिकन पहुँच भएको व्यक्तिलाई ग्राहयता दिनु दुखद रहेको महतोले आरोप लगाएका छन् ।
पदाधिकारीको सम्बन्धमा आफुलाई केही जानकारी नभएको : प्रधानाध्यापक साह
विद्यालयमा गठन भएको समितिको पदाधिकारीको सम्बन्धमा आफुलाई केही जानकारी नभएको त्रिभुवन माध्यमिक विद्यालय गौशालाका प्रधानाध्यापक अमोदकुमार साहले बताए ।
आफुले समस्याको बारेमा जानकारी गराएपछि वडाले आफुसँग समन्वय नगरिकन नाम चयन भएको प्रधानाध्यापक साहले जानकारी दिए ।
आफुले नचाहँदै वागडोर सम्हालेकोे अध्यक्ष : साह
लामो समयदेखि विद्यालय व्यवस्थापन समितिविहीन भएपछि कामकाज गर्नका लागि अप्ठयारो भएको समयमा आफुले नचाहँदै समितिको वागडोर सम्हालेकोे नवगठित समितिका अध्यक्ष एवम् वडा नं. ५ का वडाअध्यक्ष धर्मेन्द्र साहले प्रतिक्रिया दिए ।
उनले भने, ‘आफु एक्लै भएको समितीले काम गर्न नसक्ने भएपछि समिति चयन गरेको हुँ । मैले आफनो नजरमा राम्रो रहेको व्यक्तिलाई नै समितीमा राखेको हुँ ।’ वारम्वार डाकिएको अभिभावक भेलाले समिती चयन हुन नसक्दा अन्तिम विकल्पको रुपमा अस्थायी विद्यालय व्यवस्थापन समिती गठन गरिएको अध्यक्ष साहले बताए ।
वडाअध्यक्षको शिफारिस गरिएको व्यक्तिलाई नै समितीको नाममा पूर्णता दिएको : प्रमुख सुवेदी
नमुना विद्यालयको रुपमा परिचित रहेको त्रिभुवन माध्यमिक विद्यालयमा वडाअध्यक्षको शिफारिस गरिएको व्यक्तिलाई नै समितीको नाममा पूर्णता दिएको जिल्ला शिक्षा तथा समन्वय ईकाई समितीका प्रमुख भरतवावु सुवेदीले जनाएको छ । प्रमुख सुवेदीले शिरीष न्युज महोत्तरीसहकर्मी सँग कुराकानीको क्रममा भने,‘समितीमा राखिएको व्यक्तिहरुको सम्बन्धमा आफुले नकेलाईकन पूर्णता मात्र दिईएको हो । यस समितीको म्याद वढिमा ६ महिनाको लागि रहने सुवेदीको भनाई रहेको छ ।
जिल्ला शिक्षा तथा समन्वय ईकाईले हस्तक्षेप गरिएको : मेयर महतो
स्थानियतहमा सामुदायिक विद्यालय संचालन गर्ने पूर्ण अधिकार हुँदाहुँदै जिल्ला शिक्षा तथा समन्वय ईकाईले हस्तक्षेप गरिएको गौशाला नगरपालिकाको मेयर शिवनाथ महतोले प्रतिक्रिया दिएका छन् । यस विषयमा हामीले कानुनी प्रक्रिया वुझि ठोस कदम उठाउने मेयर महतोले धारणा राखेका हुन ।
यसभन्दा अगाडि नगरपालिकाको शिक्षा शाखाले चार पटक सम्म विद्यालयमा व्यवस्थापन समिती गठनका लागि गरिएको प्रयास राजनितीक तत्व हावी भएपछि असफल भएको महतोले बताए । उनले भने, ‘हामीलाई जिल्लाबाट वोधार्थस्वरुप पत्र पठाएको छ । हामी सरोकारवालापक्षसँग समन्वयन गरि परामर्श गर्दछौ । केहीदिनमै नगरपालिकाकोतर्फबाट आधिकारीक धारणा सार्वजानिक हुनेछ ।’