धनुषा। पूर्वी धनुषाको जनक नन्दनी गाउँपालिकाले आज शुक्रवार एक दिने सार्वजनिक विदा दिएको छ ।
कात्तिक शुक्ल पूर्णिमाका अवसरमा गाउँपालिकाले विदा दिएको हो ।
त्यसैगरी कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिका भित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।
करैयामाई गाउँपालिकाको वडा नं. २ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिकाको वडा नं. १ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जानकारी दिए ।
बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ ।