जनकपुरधाम। धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७५ वर्षीय एक वृद्ध साधु पक्राउ परेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका-६ घर भई ३/४ दिनदेखि सोही मन्दिरमा बस्दै आएका ७५ वर्षीय साधु शिबजी राम रहेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले क्षीरेश्वरनाथ नगरपालिका-८ को इच्छापुर स्थित एक मन्दिरमा शुक्रबार बिहान खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको आरोपमा साधुलाई पक्राउ गरिएको बताए ।
पीडित परिवारजनले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दिएको आधारमा साधु रामलाई पक्राउ गरिएको प्रनि सुनारले बताए ।
प्रहरी निरिक्षक सुनारका अनुसार ७५ वर्षीय रामले बालिकालाई मन्दिर प्राङ्गणमा कुनामा लगेर बलात्कार गरेका थिए ।
रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्ती करणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । उनलाई अहिले इप्रका महेन्द्रनगरको हिरासतमा राखेर थप अनुसन्धान भई रहेको प्रनि सुनारले जनाए ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण गरि परिवारको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।