
महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ९ पशुपतिनगर स्थित बहादुर महतो परिवारलाई आर्थिक सहयोग भएको छ ।
महतोको परिवारमा ३ जना सदस्य भएपनि तिनैजना अशक्त भएको कारणले ज्यालामजदुरी गर्ने अवस्थामा नरहेको जानकारी पाएपछि प्रावासी कुशवाहा कल्याण समाजले ३० हजार नगद आर्थिक सहयोग गरेको छ ।
महतो परिवारलाई प्रावासी कुशवाहा कल्याण समाजले उक्त सहयोग रकम नेपाल पिछडाबर्ग ओ.बी.सी. महासङ्घ प्रदेश -२ का संयोजक परमेशवर महतो, कुशवाह कल्याण समाज बटेस्वर गाउँपालिकाका कोषाध्यक्ष श्रबण महतो , प्रभु लाईफ इन्स्योरेन्स बर्दिबासका प्रमुख राकेश महतो , स्थानीय पत्रकार ललण मण्डल, सुरेन्द्र सिंह , प्रबेश सिन्ह तथा स्थानिय उमरेश यादव लगायतका रोहवरमा प्रबासी कुशवाहा कल्याण समाज मलेसियाका महासचिव सुरेन्द्र महतोले उक्त रकम हस्तान्तरण गरेको छ ।
बहादुरको परिवारमा ६९ बर्षीय श्रीमति मनतोरीया देवी र ४४ बर्षीय छोरा दुखी महतो रहेका छन् । बहादुर परिवारको पीडा भने सुनी साध्य छैन । बहादुरकी श्रीमती मनतोरीया दिर्घरोगी छिन् । उनी दमा रोगबाट ग्रसित छिन् । छोरा दुखी जन्मजात अपाङ्ग छन् । बहादुर आफै एउटा आँखाले मात्रै देख्छन । दृष्टिविहीन रहेको बहादुर महतोको विभिन्न संघसंस्थाको सहयोगमा करीब २ वर्ष पहिला आँखाको अपरेसन भएको थियो । बहादुर महतो अहिले एउटा आँखाले देख्ने भएका छन् ।
बहादुर महतो परिवारलाई सहयोग गर्न स्थानीय समाजसेवी यूवा सुरेन्द्र महतोले अभियान नै चलाएका छन् । सुरेन्द्र महतोले उक्त पिडित परिवारलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।