
ढल्केवर
नेपाली काँग्रेस धनुषा निर्वाचन क्षेत्र नं. ४ ‘ख’ को सभापतिमा बासु पौडेल निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहिबार ढल्केवरमा भएको भेलाबाट पौडेल क्षेत्रीय सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित पौडेलले आउँदो निर्वाचनमा स्थानीय तहदेखि प्रतिनिधिसभाको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई बहुमतले जित दिलाउनमा भरमग्धुर प्रयास गर्ने बताए । उनले अगामी दिनमा सबैसँग समन्वय र सहकार्य गर्दै नेपाली काँग्रेसको संगठनलाई थप मजबूद बनाउँदै अगाडि बढ्ने जानकारी दिए ।
क्षेत्रीय सभापति पौडेलले अन्य राजनीतिक दलका प्रतिनिधि, प्रतिपक्षीको मन जित्दै जिम्मेवारीअनुसार यो क्षेत्रमा नेपाली काँग्रेसका स्थानीय, प्रदेश र संघीय प्रतिनिधिसभाका उम्मेदवारलाई अत्यधिक मतले विजय गराउने अभियानमा लाग्ने जनाए ।
पौडेलको संक्षिप्त परिचय
२०४८ सालमा नेपाली काँग्रेसको सदस्यता लिएर राजनीतिक यात्रा सुर गरेका पौडेलले २०५६ सालको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि भएका थिए । २०६३ सालमा तत्कालिन तुसली गाविसको पार्टी सभापति बनेका पौडेल २०७४ सालको स्थानीय चुनावमा मिथिला नगरपालिका वडा नं. ११ तुलसीबाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । त्यस चुनावमा उनी विपक्षी पार्टीका उम्मेदारसँग २१ मतको झिनो मतले पराजय भएका थिए ।