महोत्तरी — बोक्सीको आरोपमा महोत्तरीमा कुटपिट बढ्न थालेपछि ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय जागरण प्रतिष्ठानले कात्तिक २९ गतेदेखि १२ दिनसम्म यो अभियान सञ्चालन गरेको हो ।यस क्रममा बोक्सी प्रथाविरुद्ध बनाइएको चलचित्र ‘अग्निदहन’ प्रदर्शन, बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजाय सम्बन्धमा बनेको ऐनबारे जनचेतना फैलाउने गीतसंगीत देखाइएको छ । महोत्तरीमा ११ वटा र सिरहामा एउटा गरी १२ वटा जनचेतनामुलक कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्यायले बताए । प्रतिष्ठानले महोत्तरीमा बोक्सीको आरोपमा घटना भएका स्थानमा मात्रै यो पहिलो चरणको कार्यक्रम गरेको जनाएको छ ।चलचित्र, गीत र ऐनकानुन सबै मैथिली भाषामै तयारी गरी स्थानीयलाई जानकारी गराइएको अध्यक्ष उपाध्यायले बताए । ‘अभियानले मानिसमा बोक्सी हुन्छ भन्ने भ्रम चिरिएको महसुस गरेको छु,’ उपाध्यायले भने, ‘बोक्सी भनेको मनको डर र अन्धविश्वास पो रहेछ भनी प्रतिक्रिया धेरैको आएको छ ।’ उनले बोक्सीको आरोपमा कुटपिटका घटना न्यूनीकरणमा प्रदेश २ सरकार र स्थानीय तहको सहयोग अपरिहार्य हुने बताए ।महोत्तरीमा दुई महिनायता मात्रै बोक्सीको आरोपमा आधा दर्जन कुटपिट र अमानवीय व्यवहार गरिएको घटना भएको छ । जिल्लाका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ बोक्सीको आरोपमा ४ वटा कुटपिटका घटना भएका थिए ।कथित बोक्सीको आरोपमा बढिरहेका घटनाविरुद्ध अभियानले महोत्तरीमा चेतना फैलाउने काम गरेको स्थानीयले बताएका छन् । जलेश्वर–४ सुगास्थित सुकदेव माविमा चलेको बोक्सीविरुद्धको अभियानमा ‘बोक्सी हुन्छ’ भन्ने भ्रम हटाएको सुकदेव माविका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले बताए । कार्यक्रममा सहभागी करिब ५ सय जना व्यक्तिले अब बोक्सी आरोपमा कुनै पनि घटना नगर्ने प्रतिबद्धतासमेत जनाए । प्रदेश २ की सांसद शारदा थापाले समाजमा कुरीतिको रूपमा रहेको बोक्सी प्रथा उन्मूलन गर्न चेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्ने बताइन् । अभियानका क्रममा प्रदर्शन गरिएको बोक्सीविरुद्धको चलचित्र ‘अग्निदहन’ ले २०७५ मा विशेष चलचित्र अवार्ड पाएको थियो ।