जनकपुरधाम- नेपाली कांग्रेसको प्रदेश २ सभापति पदका लागि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन् ।
यादवले शुक्रबार जनकपुुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
यादवले नेपाली काँग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको दाबि गरे । उनले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने दावी गरे ।
यस अघि काँग्रेस सभापतिका उम्मेदवारी घोषणा गरिसकेका उपसभापति विमलेन्द्र निधिको पक्षबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा कृष्णा यादवले पार्टी सभापति देउवाको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
रौतहट स्थायी घर भएका कृष्णा दोस्रो पटक जिल्ला सभापति भइसकेका छन् । उनले २०३६ सालदेखि नै आफू बहुदल निर्दलको आन्दोलनमा लागेको बताए । २०५६ सालमा महासमिति सदस्य भएका उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा रौतहटको निर्वाचन क्षेत्र नम्बर-४ बाट संविधानसभा सदस्य बनेका थिए । २०६७ र २०७२ सालमा रौतहटको जिल्ला सभापति बनिसकेका उनी अहिलेसम्म आफू पार्टीको क्रियाकलाप र सम्पूणर् गतिविधिमा निरन्तर संलग्न रहेको बताए ।
त्यसैगरि काँग्रेसका महोत्तरी सभापति महेन्द्र राय यादवले पनि सभापतिमा उम्मेदवारी दिने मन बनाए पनि सहमती भएपछि उनले कृष्ण यादवलाई नै समर्थन गरेका छन् । यादवले उम्मेदवारी घोषण गरिरहँदा उनीसंग कांग्रेस निवार्चन समिती प्रदेश २ का संयोजक समेत रहेका कांग्रेसका नेता रमेस रिजाल, केन्द्रिय सदस्यहरु महेन्द्र यादव, आनंन्द प्रसाद ढुङाना लगायतकाले आफुहरुको समर्थन कृष्ण यादवलाइ रहेको बताए ।
त्यसैगरी प्रदेश नम्बर २ को सभापतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट अर्का नेता रञ्जीत कणर्ले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पार्टीका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला सहित संस्थापनइतर समूहले अन्तिममा आएर नेता कणर्लाई प्रदेश सभापतिको उम्मेदवार बनाएको हो ।
पौडेल र कोइरालाको टिमबाट उम्मेदवार तय नभएपछि पूर्वसंविधानसभा सदस्य कणर्लाई उम्मेदवार बन्न उनीहरुले आग्रह गरेको स्रोतले जनाएको छ ।
उनले भने,‘मलाई पार्टीका साथीहरूले प्रदेश २ सभापतिको उम्मेदवार बन्न आग्रह गर्नुभएकोले तयार भएको छु ।’
यस्तै सभापतिका लागि सप्तरी सभापति दिनेश यादवले पनि इच्छा देखाएका छन् ,यद्यपि उनी भने खुलेर अहिलेसम्म आएका छैनंन । यादव जिल्ला विकास समितिका सभापति भइसकेका छन् ।
यद्यपी नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशन प्राविधिक कारणले स्थगित भएपनि आकांक्षी उम्मेदवारहरुले आ-आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
प्रथम प्रदेश अधिवेशन सुरु भए पनि प्रतिनिधिको नाम आउने क्रम जारी रहेको भन्दै काँग्रेसको प्रदेश निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको जनाइसकेको छ ।
प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशन समेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चितता बनेको छ ।
अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले चाँडै जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने समेत जानकारी दिए । जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भए लगत्तै प्रदेशको निर्वाचन प्रक्रिया सुरु गर्ने उनले बताए ।
शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दाबी विरोध, उम्मेदबारी दर्ता र त्यसपछि दाबी विरोधका कार्यक्रमहरु निर्धारण गर्ने योजना रहेको रिजालले बताए ।
उनले भने, ‘बाँकी रहेका जिल्लामा भोलीसम्म क्षेत्रीय अधिवेशन हुनेमा म विश्वस्त छु, यदि हुन सकेन भने त्यस अनुसारको प्रक्रिया अगाडि बढाइनेछ ।’