जनकपुरधाम- नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न सकिने र यसको लागि कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगर सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै उनले वैचारिक, कार्यगत र रणनीति सहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए।
माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ। नेता श्रेष्ठले पद भन्दा पनि विचारमाथि हुनुपर्ने बताए।
नेता श्रेष्ठले केपी शर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताउँदै उनले भने, ’ओलीले प्रधानमन्त्री बन्नकै लागि एकता गरे अनि सहमतिलाई पनि तोडे।’
उनले प्रधानमन्त्री बन्नकै लागि ओलीले प्रतिगमन र विसर्जनवादलाई अंगालेको पनि आरोप लगाए।
समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागि अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालुप्साकै कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे।