सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिका– १५, परवानीपुर स्थित चुरेभेगमा जङ्गली हात्तीको आक्रमणबाट आइताबार दुई जना गम्भीर घाइते भएका छन् ।
परवानीपुरकै शिरकालिन्जोरमा विवाह भोज खाएर फर्किने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा लालबन्दी– १५, कै धर्मलाल थिङका छोरा २१ वर्षीय मिसेख थिङ र मोतीलाल भोलनका छोरा ३५ वर्षीय ज्ञानबहादुर भोलन गम्भीर घाइते भएका हुन्।
कालिन्जोर खोलाको बाटो हुँदै प्रदेश नम्बर २–००३–०६ प ८९ नम्वरको मोटरसाइकलमा घर फर्किदै गर्दा उहाँहरुलाई आइतबार बिहान पौने ६ बजेतिर अचानक एउटा जङ्गली हात्तीले आक्रमण गरेको हो । घाइते दुवै जनालाई गढीमाई अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि न्यूरो अस्पताल वीरगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
घटनास्थल परवानीपुर चौकबाट करिब ७ किलोमिटर उत्तर चुरेक्षेत्रमा पर्छ । अचानक जङ्गली हात्तीले दुई जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएपछि स्थानीयहरु त्रसित भएका छन् । सर्लाहीमा तीन चार महिना लगातार तीनवटा जङ्गली हात्ती देखापरे पनि बीचमा केही सातादेखि हात्ती देखापरेको थिएन ।